पहिरोले चेपाङ मार्ग अवरुद्ध, जोखिम मोलेर यात्रा गर्दै स्थानीय


चितवन। चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुंगिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती नगरपालिका–११ बेलडाँडामा खसेको पहिरोका कारण आवतजावतमा कठिनाइ भएको हो ।
साथै अन्य स्थानमा पनि पहिरो खसेको र सडकको दुरवस्था रहेकाले यो सडक मलेखुसम्म पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । २०६६ सालको बजेट भाषणमा समावेश भएर निर्माण प्रक्रिया अघि बढेको यो सडकखण्डमा विगत चार–पाँच दिनदेखि पहिरो जाँदा स्थानीयवासी भिरको बाटोमा ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।
मंगलबार सोही मार्ग हुँदै राप्तीको विकट क्षेत्र कालिटारतर्फ नागरिकता वितरण गर्न जाँदै गरेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोली पनि पहिरोको अवरोधका कारण बाटोमै रोकिएको थियो ।
राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले पहिरो खसेपछि पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको जनाउँदै सोही स्थानमा पुगेका प्रमुख जिल्ला अधिकारी अर्याललाई सडक खुलाइदिन आग्रह गरेका थिए । सो क्रममा नागरिकता वितरण टोलीसमेत जोखिम मोलेर पहिरो पार गर्न बाध्य भएको थियो । वडाध्यक्ष प्रजाका अनुसार सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ ।
उनले भने, ‘सडकको दुरवस्थाका कारण हामीले बोलेरो गाडीमा पल्टी गरेर सामान लैजानुपर्ने अवस्था छ, कतिपय स्थानमा मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।’ सोही क्रममा स्थानीयवासीले पनि प्रजिअ अर्याललाई बाटो राम्रो बनाइदिन अनुरोध गरेका थिए । बुधबारदेखि भने सडक केही हदसम्म सञ्चालनमा आएको वडाध्यक्ष प्रजाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार सोही पहिरो र अन्य स्थानमा सडकको दुरवस्थाका बीच बोलेरो गाडीमा पुगेर विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटार र वडा नं. १२ यौरालीटारमा नागरिकता वितरण गरेको छ । प्रशासनको टोलीले नागरिकता वितरण गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत संकलन गरेको छ ।
यो सडक पूर्ण रूपमा सञ्चालनमा आएमा नारायणगढ–मुग्लिन सडकखण्ड तथा कृष्णभिर पहिरोको गतिलो वैकल्पिक मार्गका रूपमा उपयोग हुन सक्नेछ ।






















