‘जेनजी’ सहिद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई

रासस
२०८२ कार्तिक ४ | मध्यान्ह ०४:०७ बजे

काठमाडौँ, कात्तिक ४ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने ९रोशन० को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।
उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो ।
प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक/एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई/दुई गरी १० टोलीको सहभागिता रहेको थियो ।























