तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ फलेवासका वडाध्यक्ष


पर्वत, कात्तिक ४ । फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।उहाँले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गर्नुभएको हो । उहाँले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गर्नुभएको छ ।
तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गर्नुभएको थियो ।
जनताहरुले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकाले आफुले पाउने तलबभत्ता उहाँहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताउनुभयो । उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ ।
जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफुले भरपुर प्रयास गरेको उहाँको भनाइ छ । उहाँले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिवसमेत हुनुहुन्छ । आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उहाँको भनाई छ ।
रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।























