सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

रासस
२०८२ कार्तिक १ | बिहान ०८:०७ बजे

वासिङ्टन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन्। भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए ।
अर्थमन्त्री खनालद्वारा अन्तरराष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग छलफल
अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग भेटवार्ता गरे। भेटवार्ताका अवसरमा आइएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।























