समाज

फूलखतीमा रमाउँदै भक्तपुरका महिला

रासस
२०८२ अशोज ३० | मध्यान्ह ०२:०६ बजे

मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ। बिहान उठेर फूल टिपेर घरमा पुग्न नपाई पाकेको खाना खाएर फेरि आँगन र पिढीँको डिलमा बस्दै महिलाहरू सियो धागो मिलाउँदै त्यही फूलका माला गाँस्न अभ्यस्त देखिन्छन्।

गाँसेका मालालाई लहरै झुण्ड्याएर राख्न, ढकमक्क फुलेका सयपत्रीलाई मुठा पारेर बजार पुर्‍याउन परिवारका अन्य सदस्यहरू पनि उत्तिकै व्यस्त देखिन्छन्। कोही फूल र माला लिन आएका व्यापारीसँग आफ्नै आँगनमा बसेर मोलतोल गरिरहेका हुन्छन्। तिहार नजिकिएसँगै सूर्यविनायक नगरपालिका–७ गुण्डुको प्रत्येक घरआँगनमा अचेल देखिने दृश्य हो यो।

भक्तपुरकै पुरानो बस्ती चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमाला समुदायले केही वर्षदेखि व्यावसायिक रूपमा मखमलीको फूलखेती गर्दै आएको छ। यहाँका बनमाला समुदायले एक सय वर्षदेखि नै मखमली फूलको खेती गर्दै तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पुर्‍याएर आर्थिक उपार्जन गर्दै आएको छ। यस पेशा आजसम्म पनि पुस्तान्तरण हुँदै आएपछि ताथलीका बनमाला समुदायले फूलखेतीलाई निरन्तरता दिंदै आएका छन् भने राम्रो आम्दानी हुन थालेपछि यहाँका अन्य समुदाय एवं जातजातिले पनि केही वर्षदेखि व्यावसायिक रूपमा मखमलीको फूल खेती गर्दै आएका छन्।

त्यस्तै भक्तपुरको गुण्डुमा पछिल्लो चार दशकदेखि भित्रिएको फूलखेती अहिले व्यावसायिक रूपमा परिणत हुँदै करोडौंको फूल तथा माला बिक्री हुन थालेको छ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्वर्गीय पहलमान नगरकोटीले करिब ४० वर्ष अगाडि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको बताउँछन् गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा। उनले सुरु गरेको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमुना वडाको पहिचान बन्दै फूलको राजधानीको रुपमा परिचित भएको सापकोटा बताउँछन्।

स्वर्गीय नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमानले ४० वर्ष अगाडि असनका व्यवसायीका सल्लाहमा मखमलीको खेती सुरु गरेको बताउँछिन्। अहिले पुस्तान्तरण हुँदै उनकी छोरी उर्मिला नगरकोटी र तीन छोरा मदनकृष्ण, कविराज पनि सयपत्री, मखमली मात्रै नभई विभिन्न जातका फूलखेती गर्नमा व्यस्त छन्।

गुण्डुमा फूलखेती भित्र्याउने नगरकाटीले ४० वर्ष अगाडि भक्तपुरदेखि काठमाडौंका पशुपति, चावहिल, असन, इन्द्रचोक लगायतका बजारमा फूल बिक्री गर्न लैजाँदा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तीतो अनुभव सुनाएको उनका छोरा कविराजले बताए।

त्यतिबेला बजारमा अरू व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बिक्री गरेको रकमले १० जनाको परिवारको खर्च टार्नुपर्ने बाध्यता थियो। अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ भने छोराहरूले फूलसँगै असनमै अन्य व्यवसाय पनि गर्दै आएका छन्।

गाउँका अरूका माला पनि बजार पुर्‍याउने स्व. नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको सम्झिंदै उनकी छोरी उर्मिलाले आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य व्यावसायिक खेतीको रूपमा विकास भएको देख्दा खुसी लागेको बताइन्। यहाँ महिलाले आफ्नै पेवा आम्दानीको रूपमा समेत फूल खेती गर्दा उनीहरूको राम्रो आम्दानीको स्रोत समेत बनेको छ।

वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्ष समेत रहेकी उर्मिला यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमानको आशामा गर्नुपर्ने अवस्था नरहेको, चाडबाड लगायत घरखर्चमा पनि टेवा पुगेको बताउँछिन्।

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरू फूलखेतीबाटै बुबाले तीन–चार लाख रुपैयाँसम्म कमाउन थालेपछि जीवनस्तरमा उल्लेख्य सुधार आएको उनले बताइन्। फागुनमा बेर्ना राखि चैत्रमा रोपेको मखमली असारदेखि निरन्तर चार महिनासम्म टिपेर मखमलीको माला गाँसी वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्।

पुष्प व्यवसायी भन्छन्– मूल्यमा एकरूपता आवश्यक

स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेतले यस वर्ष आफूले लगाएको फूलखेतीबाट तीन लाखको फूल बिक्री गरेको बताइन्।

आधा रोपनी जग्गामा मखमली र अढाई रोपनी जग्गामा सयपत्री फूलको खेती गरेको बताउँदै उनी भन्छन्, ‘‘स्थानीय महिलाहरूले उत्पादन गरेका फूललाई बजारीकरणको प्रबन्ध मिलाइएको छ। एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।’’

असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको उनको भनाइ छ।  

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशमा बिक्री गर्ने गरेको बताउँछिन्। सयपत्री फूल पनि असारसाउनदेखि फुल्ने गर्छ। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चारपाँच सयपत्री फूलको मुठा पारेर एक मुठाको १५ देखि २० रूपैयाँ सम्ममा बिक्री हुने गरेको बस्नेत बताउँछिन्।

सयपत्री फूललाई अचेल किलो, पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ। किसानले ढ्वाङ्को करिब ७०० सम्म र किलोको २५० सम्म लिने गरेका छन्। स्थानीयभन्दा उन्नत जातका सयपत्री फूलको बढी समय टिक्ने भएकाले व्यापारीले बढी मूल्य तिर्ने गर्छन्। गत वर्ष घरबाटै २० देखि २५ रूपैयाँमा बिक्री गरेको माला यस वर्ष पनि सोही मूल्यमा बिक्री भएको छ।

स्थानीय पुष्प व्यवसायी बस्नेतका अनुसार गुण्डुका झण्डै ७५ प्रतिशत स्थानीयवासीले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्। उनी पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको बताउँछिन्।

किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउँदै उनले भनिन्, “मखमली फूलको माला किन्न व्यापारी घरघर आउँछन्। किसानसँग एउटा मालाको मुस्किलले २१ देखि २५ सम्म लैजान्छन् तर बजारमा ७० रूपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्छन्।

 मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन् ।” राज्यले मखमली फूलको मालामा एकरूपता ल्याउन लम्बाइ र गुणस्तर हेरेर मूल्य निर्धारण गर्नुपर्ने बताउँदै उनी व्यवसाय गर्ने महिलाहरूका लागि सरकारले गुण्डुलाई फूलखेतीको पकेट क्षेत्र घोषणा गर्दै आर्थिक अनुदान र तालिम एवं प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिन्छिन्।

किसानलाई नगरपालिकाको अनुदान

सूर्यविनायक नगरपालिकाले पुष्पखेतीको पकेट क्षेत्रको रूपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदान वितरण गर्दै आएको वडाध्यक्ष रवीन्द्र सापकोटा बताउँछन्।

नगरपालिकाले साना किसान कृषि सहकारी संस्था मार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी  १२ रूपैयाँ पर्ने बिरुवालाई आठ रुपैयाँ अनदान दिई वितरण गर्दै आएको उनको भनाइ छ।

सापकोटाका अनुसार यस वर्ष स्थानीय ५५० किसान परिवारलाई १२ लाख बराबरको ७५ हजार सयपत्री बेर्ना वितरण, तालिम तथा प्राविधिक सहयोग गरिएको छ।

उनले भने, “यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि नै मखमली फूलको माला झुत्तो बनाएर राखी तिहारमा बिक्री गरेका छन्।”

गुण्डुबाट प्रत्येक वर्ष करिब दुई करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उनी बताउँछन्, ‘‘फूलको व्यापारमा बिचौलिया हावी भएकाले पुष्प किसान एवं व्यवसायीलाई सिधै बजार पुर्‍याउन सके अझै आम्दानी बढ्ने छ।’’

फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिन्छ। फूल खेतीबाट धान तथा मकैभन्दा चौबर बढी आम्दानी हुने भएकाले कतिपय किसानहरूले फूलको टनेल खेती समेत गरेर १२ महिना नै सयपत्री फूल उत्पादन गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय बजारमा भक्तपुरका फूलमाला

अन्तरराष्ट्रिय बजारमा गुण्डुका फूलमाला पुग्ने गरेका छन्। सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी अनिता बस्नेत बताउँछिन्। नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन्। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी बस्नेतले आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउन पाउँदा खुसी लागेको बताउँछिन्।

उनले भनिन्, “केही वर्षदेखि अन्तरराष्ट्रिय बजारका व्यापारी मार्फत यहाँका फूल तथा माला पुर्‍याउने गरेको छु। मेरो उत्पादनले मात्रै नपुग्दा अरू किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु।”

यस वर्ष पनि अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, दुबई लगायतका देशमा मखमली फूलका माला पठाइएको छ।

कमेन्टहरु