Opens in a new tab

देश

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

रासस
२०८२ बैशाख २९ | बिहान ०७:०१ बजे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्।

 बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मनुभएका बुद्धका ज्ञान र आदर्शले विश्व मानव समुदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका हुन् । सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरे ।

अशान्ति, हत्या र हिंसाको विरोध गरी देशमा शान्ति कायम र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्दै उनले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीमा शुभकामना गरेका छन् ।

 यसैगरी, सभापति देउवाले प्रकृतिका पुजारी किरात समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे। उनले पृथ्वीमा कहीँकतै खाद्यान्नको अभाव नहोस्, अन्नबाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किरात समुदायले मनाउने उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

 

कमेन्टहरु