देश

एमालेका सचिव भीम आचार्यको भनाइ : एमाले फुटाउन हतार-हतार प्रधानमन्त्रीले विश्वासको मत लिन खोजे

जगत ठाडा मगर
२०७८ साउन ३ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले एमाले पार्टी फुटाउने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको बताएका छन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनु पर्ने मत निष्कर्षमा पुगेको दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्य सहितका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओली सँग पनि भेतघात भएका थिए ।

एकाएक प्रधानमन्त्रीले अकस्मात विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्य भन्छन्, ‘आज हतार गरेर लिन के जरुरी छ ?’

संसद जोगाउन मधेशका पार्टीहरुसँग छलफल गर्ने लगायतका विकल्प हुँदा हुँदै हतारमा विश्वासको मत लिन खोजिएको भन्दै उनले भने, ‘नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र अन्तर्गत यो सब भइरहेको छ । जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं ।’

एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको आचार्यले बताए । एमाले सचिव आचार्यले अघि भने, ‘पार्टीमा कुनै छलफल भएको छैन, हाम्रो भनिएको टिममा पनि के गरौं, कसो गरौं अझै छलफल भएको छैन, मनलागी गर्छ भने व्यक्तिगत कुरा हुन्छ समूहको कुरा होइन’ भनी भनाई व्यक्त गरेका थिए।

कमेन्टहरु