देश

कोरोनाको तेस्रो लहर नियन्त्रण हुने गरी पूर्वतयारी गर्न प्रधानमन्त्री देउवाको निर्देशन

जगत ठाडा मगर
२०७८ साउन ३ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । कोरोना भाइरसको तेस्रो लहर रोकथामका लागि पूर्व तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।

आज बालुवाटारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल लगायतसँग छलफल गर्दै देउवाले सीमा नाकामा होल्डिङ सेन्टर तत्कालै बनाउन आदेश दिएका छन्। प्रधानमन्त्री देउवाको सचिवालयले दिएको सूचना अनुसार कोरोनाविरूद्ध खोप खरिदलाई चुस्त रूपमा अगाडि बढाउन पनि प्रधानमन्त्रीबाट निर्देशन भएको छ।

आवश्यक खोप केन्द्रहरू वृद्धि गरी जनतालाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिव अर्याल, विज्ञहरू, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर आइतबार निर्देशन दिएका हुन्।

साथै प्रधानमन्त्री देउवाले कोरोना परीक्षणको दायरा वृद्धि गर्न र अस्पतालहरूमा आवश्यक अक्सिजन लगायतको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।

कमेन्टहरु