देश

नवनियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

जगत ठाडा मगर
२०७८ साउन ३ | बिहान ११:०४ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।

यति बेला भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची थप गर्ने तयारी छ । स्रोतका अनुसार देउवाले आजै विश्वासको मत लिने निश्चित रहेको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभाको पहिलो बैठक मै विश्वासको मत लिएर उनले सरकारको सुरक्षा गर्न खोजेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन आवश्यक हुन्छ ।

यतिबेला देउवाको पक्षमा काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । यदि एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।

कमेन्टहरु