पर्सा पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकेकी थिइन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने सपना साकार हुन सकिरहेको थिएन।
‘‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’’ उनले भनिन्, ‘‘आफ्नै घरदैलोमा पैसा नतिरीकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन।’’
आँखाको शल्यक्रिया गर्नुअघिसम्म नातिनातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको सम्झिइन्। ‘‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाह्राे हुने गर्थ्याे,’’ उनले भनिन्, ‘‘घर वरिपरि आउजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो। अब त कसैको सहाराबिनै ठमठमती हिँड्न सक्ने भएकी छु।’’
उनी मात्रै होइन् पर्सागढी नगरपालिका–७ टिकुलियाका ६२ वर्षीय रामचन्दर साहलाई पनि मोतियाविन्दुको शल्यक्रिया गर्न उनका ज्वाइँ नारायण साह तेलीले पुस १३ गते पर्सागढी नगरपालिका–४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित बृहत् आँखा शिविरमा ल्याउका थिए।
‘‘बुढ्यौली लागेसँगै आँखाले नजिकको वस्तु पनि छुट्टाउनै नसक्ने भइसकेको थिएँ,’’ मितियाविन्दुको शल्यक्रिया गरेका रामचन्दरले भने, ‘‘आफ्नै पालिकामा भएको शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरेर फेरि आँखाको ज्योति फर्किदा खुसी लागेको छ।’’
शिविरमा पर्सागढीका मात्र होइन, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जीतपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित पाँच सय ६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो।
भारतको विहार राज्यअन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराएका छन्।
‘‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो। नेपालमा आँखाको उपचार राम्रो हुन्छ, भनेर आएको हुँ,’’ उनले भने ‘‘ शल्यक्रिया गरेसँगै अहिले छर्लङ्गै देख्ने भएको छु।’’
भारतीय नागरिक देवानले भारतका विहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताए। ‘‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठेरो भएन्’’ उनले भने।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताउँछन् ,‘‘पहाडी जिल्लाको तुलनामा तराई–मधेशमा जनसङ्ख्या र औद्योगिक करखानाले प्रदूषण गरेकाले पनि आँखा सम्बन्धित समस्या धेरै देखिने गरेको छ,’’ उनले भने।
गत पुस ११ देखि १३ गतेसम्म भएको आँखा शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक डा. सागर रुइत, डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थकर्मीको टोलीले आँखाको उपचार गरेको थियो।
प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको बताए। ‘‘पहाडी जिल्लामा भन्दा तराई–मधेशका जनतामा मोतियाविन्दुको समस्या धेरै देखिने गर्छ,’’ उनले भने, ‘‘आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिन जरुरी भइसकेको छ।’’
प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको बताए। मोतीविन्दुको शल्यक्रिया दुई पद्दतिबाट गर्ने गरिन्छ। मेसिनबाट (फेको) र म्यानुअफ स्मल इन्सिसन क्याटर्याक्ट सर्जरी (एमएसआईसीएस) बाट गरिन्छ।
मोतियाविन्दुको फेको प्राविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि १८ हजार रूपैयाँ खर्च लाग्ने गर्छ भने ‘एमएसआइसीएस’ प्रविधिमार्फत गर्दा कम्तीमा रु १० हजार खर्च लाग्ने गर्छ। शल्यक्रियापछि बिरामीलाई औषधि र चश्मा पनि निः शुल्क वितरण गरिएको थियो।
पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीको लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताए।
‘‘मोतियाविन्दुका बिरामीलाई आफ्नो घरदैलोमा नै शिविर गरेर आँखाको उपचार गराउन सक्यौँ,’’ उनले भने,‘‘तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक र सिङ्गापुरको सिंइग होप संस्थाको सहकार्यमा मात्रै सम्भव भएको हो।’’
उनले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा ७ सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेट्टिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रूपमा नमिलेको बताए।
आँखाको बिरामीको हब बन्दै वीरगञ्ज
नेपालमा सस्तो र गुणस्तरीय आँखाको उपचार हुन थालेसँगै भारतको विहार, उत्तर प्रदेश लगायतका राज्यका बिरामीको उपचार गर्ने थलोको रूपमा पनि वीरगञ्जसहितका आसपासको क्षेत्र भएको छ।
तिलगङ्गा आँखा प्रतिष्ठानले सस्तो र गुणस्तरीय लेन्स उत्पादन गरेर बजारीकरण गरेसँगै भारतीय आँखाका बिरामी पनि वीरगञ्जमा उपचार गराउन आउने सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ।
वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले वीरगञ्जमा ६० प्रतिशत भारतीय नागरिक र ४० प्रतिशत स्वदेशी आँखाका बिरामी उपचार गर्न आउने बताउँछन्।
‘‘आँखाका बिरामीले गर्मीमा भन्दा पनि जाडो मौसममा शल्यक्रिया गर्न रुचाउँछन्। गर्मी मौसममा पसिनाको कारणले घाउको सङ्क्रमण बढ्न सक्ने जोखिमले शल्यक्रिया गर्न रुचाउँदैनन्,’’ उनले भने,‘‘जाडोको मौसम आँखा वा मोतियाविन्दुको शल्यक्रिया गर्न उपयुक्त मौसम मान्ने गरिन्छ।’’
स्वास्थ्य कार्यालय पर्साका प्रमुख साह भारतभन्दा नेपालमा आँखाको उपचार धेरै गुणा सस्तो र उपचार पद्दति गुणस्तरीय भएकाले नेपालमा आउने गरेको बताउँछन्। पर्सामा डेढ दर्जनभन्दा धेरै आँखा अस्पताल रहेका छन्। वीरगञ्जमा धेरै आँखाका बिरामीको उपचार गर्ने अस्पतालमा केडिया आँखा अस्पताल, दृष्टि, किरण आँखा अस्पताल, वीरगञ्ज सामुदायिक आँखा केन्द्र लगायतका रहेका छन्। वीरगञ्जमा मात्रै वार्षिक डेढदेखि दुई लाख भारतीय बिरामी उपचार गराउन आउने गरेका छन्।

























