समाज

‘नेपहप श्रीपेच सिजन २’ को फाइनल पुगेका अरुण मगरलाई गृह जिल्लामा सम्मान

नवलपुर टुडे
२०८१ मंसिर ६ | मध्यान्ह ०२:०८ बजे
फाइनल प्रवेश पाएका मगरलाई सम्मान गर्दै वडाध्यक्ष तामाङ

रियालिटी शोको फाइनलमा पुगेका मगरलाई कटारी वडा नं. २ ले उपाधि जितको शुभकामना दिँदै सम्मान गरेको छ। बुधबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी रियालिटी शोको फाईनल पुग्न सफल मगरलाई वडाध्यक्ष मोहन तामाङले उपाधि जित्न शुभकामना दिँदै अग्रिम बधाईसहित सम्मान गरे।

फाइनल यात्रा तय गरेका अरुणलाई वडाध्यक्ष तामाङले वडा परिवारको तर्फबाट नगद ३० हजारसहित सम्मान गरेका हुन्। तामाङले व्यक्तिगत ५ हजार नगद पनि मगरलाई सहयोग प्रदान गरे। सो रियालिटी शोको पहिलो सिजन ¥यापर साईमले जितेका थिए। जसको निर्णायक काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह थिए। निर्णायक भएकै बेला बालेन महानगरप्रमुख जितेका थिए।

उपाधि विजेता साईमनलाई ट्रफि (श्रीपेच)को रुपमा दिइएको मुकुट बज्राचार्य समुदायकोसँग मेल खाएको भन्दै विरोध भएको थियो। विरोधपछि बालेनले मुकुट फिर्ता गराएका थिए। फाइनल पुगेका मगरलाई हौसला बढाउन स्थानीयले कटारी बजार र आसपासमा कार्यक्रम गर्दै भोट माग्न थालेका छन्। उनलाई जिताउन अभियानस्वरुप ठाउँ ठाउँमा कार्यक्रम गरी मगरलाई प्रस्तुति दिन लगाइएको स्थानीयको भनाई छ।

मगरले पूर्वी नेपालकै प्रतिनिधित्व गरिरहेको अर्थ्याउँदै सिजन २ को श्रीपेच उपाधि जिताउन अभियान चलाइएको वडाध्यक्ष तामाङले बताए। उपाधिका लागि भोटिङ सुरु भइसकेकाले भोट गरेर सहयोग गर्न वडाध्यक्ष तामाङले उदयपुरे समुदायसँग आग्रह गरेका छन्। 

 
 

कमेन्टहरु