देश

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

नवलपुर टुडे
२०८१ भदौ ४ | बिहान ०६:०५ बजे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार दिल्लीमा भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा ।

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् ।

मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् ।

‘मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ,’ उनले लेखेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि उनले बताएकी छन् । भेटपछि मोदीले पनि एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन् ।

modi quote 2082024013830

दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर रहेको पनि उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको हो ।

img 20240819 wa0060 1982024051337भेटमा नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा तथा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

राणाले सोमबार दिउँसो नै समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी छन् । उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताएकी छन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । ‘यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु,’ मन्त्री राणाले एक्समा लेखेकी छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको एक्समा उल्लेख गरेका छन् । जयशंकरकै निमन्त्रणामा राणा दिल्ली गएकी हुन् । ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायत बहुआयामिक सहयोगबारे छलफल भएको छ,’ जयशंकरले लेखेका छन्, ‘नेपालले भारतमा करिब १ हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो ।’

img 20240819 wa0059 1982024051333गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरानमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो । जयशंकरले भारतको ‘छिमेकी पहिलो नीति’ र लामो जनस्तर तथा सांस्कृतिक सम्बन्धले भारत र नेपालको सम्बन्धलाई अघि बढाउने उल्लेख गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासले जयशंकरसँगको भेटमा पारवहन, ट्रान्जिट, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई रुट, खाद्यान्न, पञ्चेश्वर बहुउद्देश्य परियोजना, खेलकुद, सीमा क्षेत्रका पूर्वाधारलगायत विषयमा छलफल भएको जनाएको छ ।

दुवै पक्षले द्विपक्षीय संयन्त्रहरूलाई निरन्तरता दिने पनि सहमति जनाएका छन् । भारतीय विदेश मन्त्रालयले राणा र जयशंकरबीचको भेटमा द्विपक्षीय साझेदारीबारे छलफल भएको जनाएको छ । विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल भएको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

arju rana s jayashankar 3 1982024125259‘ऐतिहासिक, सभ्यतागत, सांस्कृतिक र जनताबीचको सम्बन्धका कारण भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरू हुन् । हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले गति हासिल गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँचचौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका क्षेत्र जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।’

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको बताएको छ । ‘भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरूबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुरबाट साभार

कमेन्टहरु