Opens in a new tab

देश

बाँकेको राप्तीसोनारीमा भेटियो रातो सर्प

नवलपुर टुडे
२०८१ साउन ३१ | मध्यान्ह ०८:०४ बजे
उद्दार गरिएको कोरल रेड कुक्री प्रजातिको सर्प । तस्बिर सौजन्य : रेञ्जर यामबहादुर रावत

खजुरा, साउन ३१ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित एक विद्यालयबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरेको छ ।

यो समाचार आजको गोरखापत्र अनलाईनमा छ, राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कमै मात्रामा पाइने कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार गरिएको निकुञ्जका रेन्जर यामबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रजातिको सर्प भारत र नेपालका केही स्थानहरूमा मात्र पाइने गरेको छ । दुर्लभ नै नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको रावतले जानकारी दिनुभयो ।

रेन्जर रावतकाअनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि यो प्रजातिको सर्प पाइएको थियो । बाँकेमा पनि दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र पाइएको थियो । 

अन्य सर्पभन्दा कमै मात्रामा पाइने यो सर्प मन्द विषालु भएको उहाँले जानकारी दिनुभयो । झट्ट हेर्दा यो सर्पको टाउकोबाट स्पष्ट घाँटी छुट्टिएको देखिँदैन । त्यसैगरी आजै राप्तीसोनारी ८ ओभरीबाट एउटा गोमन सर्पसमेत उद्धार गरिएको रेन्जर रावतले जानकारी दिनुभयो । 

“ओभरीका एक स्थानीयको गोठमा छिरेर एउटा बोकालाई डसेर मारेको रहेछ, स्थानीयले हामीलाई खबर गर्नुभयो, हामी तत्काल पुग्यौँ ।” रावतले भन्नुभयो, “दुई थोप्ले गोमन सर्प रहेछ, यो विषालु प्रजातिको सर्प हो, सर्पलाई उद्धार गरेर कार्यालयमा ल्याएका छौँ ।”

उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्र भित्र लगेर व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कमेन्टहरु