दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

रासस

सारांश
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ ।
प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिनसकेको छैन ।
प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बेनीदेखि पैदलयात्रा गरेर सोमबार पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी–पोखरेबगर खण्डमा थुपै्र ठाउँमा सडक भासिएको, कटान गरेको, पहिरो थुप्रिएको, विद्युत्का तार र पोलहरूमा क्षति गरेको बताए ।
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।
नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मको क्षेत्रमा रहेका टावरमा विपद्बाट क्षति पुगेको र स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाएको जानकारी दिए । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति गराउने वैकल्पिक उपाय अपनाउने र प्रसारण लाइन पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय गरिएको उनले बताए ।
पुरानो ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा बाढीपहिरोले क्षति पुर्याएको छ । दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत आपूर्ति गराउन प्रयास गरे पनि टावरहरूमा देखिएको समस्या पहिचान गर्न सडक यातायात र सञ्चारको समस्याले नसकिएको उनले बताए।
बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद भएको छ । विद्युत् अभावमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि विद्युत्, सडक र यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















