अपराध

तीन लाख धरौटी बुझाउन नसकेपछि बमजनलाई थुनामै पठाइयो

नवलपुर टुडे
२०८१ साउन १४ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा गएका छन् ।सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी मागेको इजलास अधिकृत अक्षयकुमार दनुवारले जानकारी दिए ।

तर, सर्लाहीबाट सिन्धुपाल्चोक उपस्थित गराइएका बमजमले धरौटी बुझाउन नसकेपछि उनलाई थुनामै पठाइएको हो । बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो  धरौटी रकम राख्न सकेको भए पनि बमजन थुनामुक्त भने हुने थिएनन् । यसअघि असार १७ गते सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अनुसार उनी जेलमै छन् ।

जेलबाट नै मुद्दाको सुनुवाइका लागि उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसन्धान प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीकले बमजनविरुद्ध बाल यौन दुराचार मुद्दा दायर गरेको थियो ।

अदालतबाट ०७७ असार २१ मा पक्राउ पूर्जी जारी भए पनि बमजन फरार रहँदै आएका थिए । त्यही पूर्जीका अधारमा बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानीलकण्ठबाट ०८० गत पुस २४ मा पक्राउ गरेको थियो । त्यही दिन सर्लाही पठाएर बमजनको सुनुवाइ सुरु गरिएको थियो ।

जिल्ला अदालतको फैसला अनुसार महोत्तरीको जलेश्वर जेलमा रहेका बमजनलाई मुद्दाको सुनुवाईका लागि सिन्धुपाल्चोक लगिएको थियो ।

कमेन्टहरु