समाज

त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली आज स्वदेश फर्किँदै

नवलपुर टुडे
२०८१ साउन १३ | बिहान ०८:०४ बजे

गएको आइतबारदेखि भारतीय टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो। आजसम्म खोजि गर्ने प्रयास जारी राखेको पनि  केहीँ उपलब्धि नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनका अनुसार, भारतीय टोलीलाई सिकाई समिक्षासँगै धन्यवाद दिएर बिदाई गरिँदैछ। ‘सुरक्षा समितिको बैठकमा भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि, प्रविधि र अबको सम्भावना सहितको समिक्षा, साथै हाम्रो विपद व्यवस्थापन र खोज तथा उद्धार कार्यमा गरेको योगदानमा धन्यबाद दिन्छौँ’, प्रजिअ यादवले भने।

भारतबाट १२ जनाको टोली अघिल्लो शनिवार चितवन आएको र आइतबारदेखि काम सुरु गरेको प्रजिअ यादवले बताए। उनीहरुको सोनार क्यामेर सहित त्रिशुली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्वार कार्यमा जुटेका थिए। एनडिआरएफले ल्याएको १९ किलोको चुम्बक समेत त्रिशूली नदीले बगाएको छ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए। नदीमा बस खस्ने क्रममा तीन यात्रुले पौडिएर ज्यान जोगाए भने कम्तिमा ६२ यात्रु नदीमा डुबे। त्यसयता दुवै बस भेटिएका छैनन् भने नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ। 

कमेन्टहरु