समाचार

कालिकोटमा दृष्टिविहीन बालिका बलात्कृत

नवलपुर टुडे
२०८१ असार १९ | मध्यान्ह ०७:०३ बजे

कालीकोट, असार १९ । कालीकोटमा एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । नरहरिनाथ गाउँपालिका वडा नम्बर-८ की १३ वर्षीया दृष्टिविहीन किशोरी बलात्कृत भएकी हुन् ।

आइतबार बिहान ११ बजेतिर घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला घरमा एक्लै भएको मौका पारेर स्थानीय ५० वर्षीय चक्रबहादुर विष्टले ती किशोरीमाथि जबरजस्ती करणी गरेर भागेको भन्दै आफन्तले जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए ।

विष्टलाई सोमबार प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म ल्याएको थियो । मंगलबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ ।

दृष्टिविहीन बालिका कक्षा ७ मा पढ्छिन् । हालै मात्र उनले आँखाको उपचार गर्न कैलालीको गेटा आँखा अस्पतालमा परीक्षण गरेर घर फर्किएकी थिइन् ।

कमेन्टहरु