अपराध, अर्थ

बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको बैंक खाता ‘ब्लक’

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | बिहान ०८:०२ बजे
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द छ। चालू आवको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता ‘ब्लक’ भएको हो। खाता ब्लक हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित हुन्छन्। 

बन्द हुनेमा २०४७ सालयता बैंक तथा वित्तीय संंस्थाहरुमा कर्जा लिएर नतिर्ने ऋणी र चेक बाउन्समा परेर पनि पैसा नतिर्ने ऋणीहरुको खाता छन्। कर्जा सूचना केन्द्रका अनुसार जेठ २४ गतेसम्म ८९ हजार ग्राहक चेक बाउन्स र ऋण नतिरेका कारण ‘ब्लक’ हुनपुगेका छन्। यसमा चालू आर्थिक वर्षको वैशाखसम्म ४० हजार बैंकका ग्राहक थपिएको केन्द्रले जनाएको छ।  

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीहरु यसरी कालोसूचीमा पर्ने गरेका छन्। ऋण नउठेपछि बैंकहरुले धितो लिलामी गर्नुअगाडि उनीहरुलाई कालोसूचीमा राखेर धितो असुल नगरुन्जेल वित्तीय सेवाबाटै वञ्चित गराउँछन्। केन्द्रका अनुसार ऋण तिर्न र बैंकले धितोबाट असुल समेत गर्न नसकेका ३९ प्रतिशत ऋणी छन् भने ६१ प्रतिशत चेक बाउन्समा परेकाहरु छन्। 

कसरी हट्छन् कालोसूचीबाट ग्राहक? 
बैंकले धितो लिलाम गरेपछि ऋणीको कर्जा दायित्व सकिएको खण्डमा कालोसूचीबाट हटाउन केन्द्रलाई सिफारिस गर्ने गर्छ। तर पछिल्लो ८ महिनायता कालोसूचीबाट हट्ने ग्राहकको सख्या निकै थोरै छ। बरु चालू आवमा ऋण नतिरेर कालोसूचीमा पर्ने ग्राहकको संख्या उल्लेख्य बढेको छ।

केन्द्रका प्रवक्ता विजय कुँवर चालू आर्थिक वर्षमा ऋण नतिरेर र चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दोब्बरले बढेको बताउँछन्।  ‘अघिल्ला वर्षहरुमा चेक बाउन्सका मात्रै ग्राहकहरु कालोसूचीमा भेटिन्थे। अहिले महिनामै ५÷६ हजारसम्म ऋणीहरु कर्जा नतिरेको कसुरमा कालोसूचीमा पर्न थालेका छन्’, उनले भने।

ऋण असुलीमा बैंकहरु कमजोर बनिरहँदा चेक बाउन्सका घटनामा वृद्धि देखिएको छ। केन्द्रका अनुसार चेक बाउन्सको कारण कालोसूचीमा पर्नेहरुको संख्या कुल संख्याको ६१ प्रतिशतसम्म छ।  कालोसूचीमा पर्नेको संख्या यस्तै गतिमा बढ्ने हो भने चालू आव सकिँदासम्म थप ४० हजार ग्राहक कालोसूचीमा पर्ने प्रवक्ता कुँवर बताउँछन्। 

‘आर्थिक वर्ष सकिने समयमा सामान्यभन्दा दोब्बरले कालोसूचीमा राख्न सिफारिस आउने गर्छ’, उनले भने।  

ऋणी र बैंक दुवैलाई सकस
बैंकर भुवन दाहाल पछिल्लो दुई वर्षयता बैंकलाई ऋण उठाउन सकस भएको स्वीकार्छन्। यसमा ऋणीमात्रै नभएर बैंकहरु पनि समस्यामा पर्दै आएका हुन् । बैंकर दाहाल अर्थतन्त्रमा दुई वर्षदेखि अर्थतन्त्रमा देखिएको सुस्ताताले पनि बैकिङ प्रणालीमा असर पुगेको बताउँछन्। 

‘दुई वर्षयता ऋणीलाई ऋण तिर्न मात्रै समस्या परेको छैन, बैंकहरुलाई धितो लिलाम गर्न समेत गाह्रो परिरहेको छ’, उनी भन्छन्। कर्जा उठाउन नसकेकै कारण बैंकहरुको खराब कर्जा बढ्न पुगेको उनको भनाइ छ।  

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको तथ्यांकमा अधिकांश बैंकहरुको खराब कर्जा ४ देखि ५ प्रतिशत हाराहारीमा छ। लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतको सीमामा पुगेको छ भने नेपाल बैंक, प्रभु बैंकसहितका ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतमाथि छ। योबाहेक कृषि विकास बैंकको ३.१७ प्रतिशत, एनआईसी एसियासहित ४ बैंकको खराब कर्जा ३ प्रतिशत हाराहारीमा छ। 

उक्तबाहेक माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको राष्ट्र बैंकले जनाएको छ। सामान्यतया समयमा भुक्तान नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी बढ्ने गर्छ। यसले बैंकको वासलातमा खराब कर्जा बढेको देखाउँछ। बैंकहरुले ३ महिना, ६ महिना र वर्ष दिनसम्म कर्जा तिर्न नआउने ऋणीहरुलाई वर्गीकरण गरेर यस्ता कर्जालाई खराब कर्जामा राख्छन्। 

केन्द्रीय बैंकले ५ प्रतिशतभन्दा कम खराब कर्जा हुनुलाई सामान्य अधिकतम विन्दु मानेको छ। यस्तो अवस्थामा लक्ष्मी सनराइज बैंक खराब कर्जाको चपेटामा पर्नेमा अग्रस्थानमा देखिँदा बाँकी ९ बैंकले पनि खराबकर्जा व्यवस्थापन गर्न सकेको देखिँदैन। 

कमेन्टहरु