समाचार

रौतहटमा भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला

नवलपुर टुडे
२०८१ जेष्ठ २२ | मध्यान्ह ०३:०२ बजे

रौतहट, जेठ २२ । रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट र सिर्सिया जाने हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । 

घटनाको प्रकृति हेर्दा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन् । मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारीको नाम ठेगाना उल्लेख छ । 

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताएकी छिन् । शव फेला परेको स्थानदेखि केही पर सिजे ०१- २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ । उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको हो वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालेको हो भन्ने खुल्न सकेको छैन ।

हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कमेन्टहरु