समाचार

होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ २१ | मध्यान्ह ०७:०२ बजे

पोखरा, जेठ २१ । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पोखरामा एक शिक्षक पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सोही स्कुलका शिक्षक सुदिप अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ३ गते बालकको संवेदनशिल अंगमा लठ्ठी प्रहार गरी घाइते बनाएको भन्ने जाहेरीको आधारमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु