समाचार

कपिलवस्तुको कृष्णनगर अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी
२०८१ जेष्ठ २० | मध्यान्ह ०३:०२ बजे

कपिलवस्तु, जेठ २० । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति गरिएको थियो । 

कार्यक्रममा अहिरउवा नाच, कहरउवा नाच, धोवियाना नाच, झर्रा नाच, विरहा, अल्हा, चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजग प्रताप शाह र कार्यक्रमको अध्यक्ष निरहु यादवले अवधीको पहिचान झल्कने गरी धोती, कुर्ता र गम्छा लगाएर कार्यक्रममा सहभागी भएका थिए । 

प्रमुख अतिथिलाई मञ्चमा बस्नको लागि खटियाको व्यवस्थापन गरिएको थियो । कार्यक्रममा सहभागी भएका सम्पूर्णका लागि नास्तामा पुडी, सब्जी, गुलगुला, सोहारी र सोठौरा खुवाएर अवधी संस्कृतिको खाने परिकारलाई जोगाउने उद्देश्यले खुवाइएको थियो । 

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रममा बोल्दै भने ‘ हाम्रो अवधी भाषाको छुट्टै इतिहास र पहिचान रहेको छ । अवधी भाषामा एक छुट्टै प्रकारको मिठास रहेको पाइन्छ । अवधी संस्कृतिको जन्मदेखि मृत्युसम्म छुट्टै संस्कृति रहेको छ । हाम्रो यस्तो संस्कृतिलाई हामी सबै मिलेर संरक्षण र जोगाउने जिम्मेवारी अनि दायित्व रहेको छ ।’

उक्त कार्यक्रम अवधी मिडिया जागरणको आयोजना, अवधी पत्रकार संघ कपिलवस्तुको समन्वय र कृष्णनगर नगरपालिका आर्थिकको सहयोगमा सम्पन्न भएको हो ।

कमेन्टहरु