लेक लागेर दुई दिनमा यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु


मुगु, जेठ २० । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।























