सुनसरीबाट स्रोत नखुलेको १ करोडभन्दा बढी नगदसहित एकजना पक्राउ


सुनसरी, जेठ २० । सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका–५ का अन्दाजी वर्ष ३७ का ईसा अन्सारी रहेका छन् ।
जिल्लाको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा कार भित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो नगद बरामद गरेको हो ।
बरामद रकमसहित कार र चालक अन्सरीलाई पनि नियन्त्रणमा लिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए ।
नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको थापाले बताए ।























