अर्बौं बचत रकम अपचलन गरेको आरोपमा कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | मध्यान्ह १२:०२ बजे

काठमाडौं, जेठ १८ । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भारतीय सीमा क्षेत्रबाट शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो ।
लामा सहितको समूहले कान्तिपुर र पशुपति सहकारीको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ पसिकेका छन् । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
कान्तिपुर सहकारीका सञ्चालकहरुविरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले दुई अर्ब बढीको रकम अपचलन गरेको जाहेरी दिएका छन् ।























