समाचार

बाराबाट १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ १६ | मध्यान्ह ०६:०२ बजे

बारा, जेठ १६ । बारा प्रहरीले १३ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ३ जना नेपाली र १ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले जिल्लाको सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित सानो बसवरीयाबाट नक्कली नोटसहित बारा कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी र रौतहट राजपुर नगरपालिका वडा नं. १ का १९ वर्षीय मोहनकुमार साहलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । उनीहरूले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बाराको सिम्रौनगढ नगरपालिका – ९ ठूलो बसवरीयाबाट भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलमलाई ६ लाख ९ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई साइकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।  

कमेन्टहरु