समाज

कपिलवस्तुको विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति

धर्मेन्द्र कुमार कुर्मी
२०८१ जेष्ठ १५ | मध्यान्ह ०८:०२ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका- ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले नवलपुर टुडेलाई जानकारी दिए ।

आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोमवार बिहान हावाहुरीले क्षति पु¥याएको घरमा पुग्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए ।

क्षतिको विवरण तयार भए पश्चात् पालिकाले आवश्यक सहयोग गर्ने थापाले आश्वासन दिएका छन्।

 

कमेन्टहरु