प्रबास

स्टार्मरलाई नेतृत्व प्रतिस्पर्धामा चुनौती दिने पूर्वमन्त्री स्ट्रिटिङको घोषणा

एजेन्सी
२०८३ जेष्ठ ३ | मध्यान्ह ०१:०२ बजे

लन्डन । बेलायतका पूर्वस्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्री किर स्टार्मरविरुद्ध हुने कुनै पनि लेबर पार्टी नेतृत्व प्रतिस्पर्धामा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । स्ट्रीटिङले लेबर समर्थकहरूको प्रगतिशील समूह प्रोगेसको सम्मेलनलाई सम्बोधन गर्दै भने– ‘हामीलाई उत्कृष्ट उम्मेदवारहरूबिच वास्तविक प्रतिस्पर्धा चाहिन्छ र म त्यसमा सहभागी हुनेछु ।”

केही दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिँदै स्टार्मरलाई आफ्नो पदत्यागको समय सीमा तय गर्न आग्रह गरेका थिए । सम्बोधनका क्रममा स्ट्रिटिङले सन् २०१६ मा बेलायतको युरोपेली संघ (ईयू) छोड्ने (ब्रेक्जिट) निर्णयलाई विनाशकारी गल्ती भएको बताए । उनका अनुसार ब्रेक्जिटपछि बेलायत औद्योगिक क्रान्ति अघिकै जस्तो कमजोर अवस्थामा पुगेको छ ।

बेलायतले भविष्यमा फेरि युरोपेली सङ्घमा फर्किने लक्ष्य राख्नुपर्ने पनि उनले बताए । प्रधानमन्त्री स्टार्मरले विगतमा ब्रेक्जिटको विरोध गरेका थिए । तर प्रधानमन्त्री बनेपछि उनले पुनः युरोपेली सङ्घमा फर्कने प्रयास नगर्ने र आप्रवासनजस्ता संवेदनशील विषयमा ठुलो सम्झौता नगर्ने बताएका छन् ।

यसैबिच, ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी ब्रुनह्यामले संसदमा फर्किन खाली भएको सिटमा चुनाव लड्ने घोषणा गरेका छन् । संसद् सदस्य बन्नु प्रधानमन्त्री पदका लागि स्टार्मरलाई चुनौती दिन आवश्यक सर्त मानिन्छ ।

गत साता स्थानीय निर्वाचनमा लेबर पार्टीले ठुलो पराजय भोगेपछि स्टार्मरमाथि राजीनामाको दबाब बढेको छ । तर उनले पद नछोड्ने स्पष्ट पारेका छन् । लेबर पार्टीको नियमअनुसार नेतृत्वको चुनाव सुरु गर्न कुनै पनि चुनौतीकर्ताले पार्टीका कम्तीमा २० प्रतिशत सांसदहरूको समर्थन जुटाउनुपर्छ । 

कमेन्टहरु