Opens in a new tab

प्रबास

आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्नेः इरान

नवलपुर टुडे
२०८३ अशोज १० | बिहान ११:०६ बजे

संयुक्त राष्ट्रसंघ, असोज १०। इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई सात दिनभित्र जलडमरूमध्य खोल्ने ठोस योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेसँगै सात दिनको समयसीमा सुरु हुनेछ। योजनाअनुसार अमेरिकाले केही आवश्यक कदम चाल्नुपर्नेछ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्नेछ। छैटौँ दिनमा जलडमरूमध्य खोलिने र सातौँ दिनमा अमेरिका–इरानबीच अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने उहाँले बताउनुभयो।

विदेशमन्त्री अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने आवश्यक कदमहरू नयाँ नभई गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारीपत्रमै समावेश गरिएका विषय हुन्।

उहाँले अमेरिका सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न गम्भीर भए आवश्यक सबै तयारी पूरा भइसकेको बताउनुभयो।

इरानले कुनै पनि प्रकारको दबाब, धम्की वा डर देखाउने प्रयास स्वीकार नगर्ने र दबाबका कारण आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो।

गत जुन १८ मा अमेरिका र इरानले लेबनानसहित क्षेत्रका सबै मोर्चामा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने तय गरिएको थियो। तर पछिल्लो समय दुवै देशबीच तनाव बढेपछि वार्ताको अवस्था अझै स्पष्ट हुन सकेको छैन।

कमेन्टहरु