जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट


धनुषा । जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ । पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको थियो ।
उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार फर्छ्यौट भएका मुद्दामध्ये अघिल्लो वर्षबाट सरी आएका दुई हजार २६७ र नयाँ दर्ता भएका तीन हजार ३८४ सहित कुल पाँच हजार ६५१ मुद्दा अदालतमा रहेको छ । उनका अनुसार दुई हजार ५३६ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
यसैगरी, चालु वर्षमा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ३९१ मुद्दा फर्छ्यौट हुँदा एक हजार ९९३ मुद्दा अझै बाँकी छन् । अदालतको कुल मुद्दा फछ्र्र्याैट प्रतिशत ५५ दशमलव १२ रहेको जानकारी दिइएको छ ।
अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । सार्वजनिक विवरणअनुसार एक वर्षदेखि १८ महिनाभित्रका ३७४ मुद्दा, १८ महिनादेखि दुई वर्षभित्रका ७० मुद्दा तथा दुई वर्ष नाघेका चार मुद्दा अझै विचाराधीन रहेका छन् ।
त्यसैगरी, २०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको सङ्ख्या १२४ रहेको अदालतले जनाएको छ ।कामु मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए । उनका अनुसार अदालतले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गरे ।अदालतले चालु आर्थिक वर्षका लागि चार हजार ५४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ ।






















