आगलागी पीडितको सहारा बन्दै घरघर सहयोग लिएर पुगे अध्यक्ष यादव


प्रतापपुर । पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव आगलागि पीडितहरुकाे घर परिवारका सहारा बनेका छन । आगलागीबाट पीडित भएका घरपरिवारहरुकाे घरदैलोमा राहत सामाग्री लिएर पुगेका छन । प्रतापपुर गाउँपालिका भित्र आगलागीबाट ७ वटा घर पुर्ण क्षति र ४ वटा घरमा आंशिक क्षतिसहित ११ घर क्षति ग्रस्त भएका छन । पालिकाको वडा नं. ५ को बड्की बैदलीमा ३ वटा घर, बसहियामा २ घर, वडा नं. ६ को गुठी प्रसौनीमा ५ घर र प्रतापपुर वडा नं. ८ को रेतामा १ घर आगलागीबाट क्षति भएका छन।
पालिकाले पुर्ण क्षति भएका ७ वटा घरलाई २५ हजारको दरले नगद सहित राहत स्वरुप खाद्यसामाग्री वितरण गरेको छ । आंशिक क्षति भएका ४ घरलाई १० हजार नगदसहित खाद्यसामाग्री वितरण गरिएको हो । पालिका अध्यक्ष उमेश चन्द्र यादवले हावाहुरीका मौसममा पालिका भित्र आगलागीका घटनाहरु बढ्न थालेकाले आगलागी नियन्त्रणका लागि पालिकाले दमकल खरिदको प्रक्रिया अगाडि बढाएको बताए । उनले दमकल २०८१ साल भित्र खरिद गर्ने र अगामी बर्षमा गाउँपालिकाले आफ्नै दमकल संचालनमा ल्याउने र आगलागी जस्ता विपदका घटनालाई नियन्त्रण गर्नेसमेत बताए ।
गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले राहत वितरण गर्दै आगलागी पीडितहरुलाई गाउँपालिकाले अन्य निकायसंग समन्वय गरी आबश्यक राहत सामाग्रीहरु उपलब्ध गराउने, दातृ निकायसंग पुर्नस्थापनाको लागि पहल गर्ने बताए ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं ६ का वडा अध्यक्ष केशव अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष रमेश बनिया, पालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशी, प्रशासन शाखा प्रमुख जिवलाल पाण्डे, लेखापाल मोहन खनाल लागायत पालिकाको टोलीले आगलागी भएका घरहरुको अवलोकन गरि पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएकाे हाे ।























