अर्थ, कृषि

मालवाहक रेल सेवा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मै विस्तार गर्न आग्रह

नवलपुर टुडे
२०८० चैत्र ६ | बिहान ०९:१२ बजे

बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मालवाहक रेल सेवा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मै विस्तार गर्न आग्रह गरेको छ । संघले भारतका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीलाई भेटेर व्यापार सहजीकरणका लागि रेल सेवा नौतनवा रेलवे स्टेसनदेखि आईसीपीसम्मै विस्तार गर्न आग्रह गरेको हो ।

‘एकीकृत जाँच चौकी नेपाल भारत सीमा नाका अन्तर्गत भैरहवा–सुनौलीमा निर्माणाधीन रहेको यहाँलाई अवगतै छ, केही दुरीमै रहेको आईसीपी क्षेत्रसम्म रेल सेवा विस्तार गर्न हामी आग्रह गर्दछौँ, ’संघले राज्यमन्त्री चौधरीलाई बुझाएको पत्रमा उल्लेख छ ।

त्यस्तै भारत सरकारले कृषिजन्य वस्तुको निर्यात शुल्कमा लिँदै आएको अतिरिक्त करमा छुट प्रदान गर्न पहल गरिदिन समेत आग्रह गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

खुल्ला सीमाका कारण अवैध लागूऔषध ओसारपसार बढ्दै गएकाले बोर्डर सेक्रुयटी फोर्स (बीएसएफ)लाई तोकिएको चेकपोइन्ट भन्दा बाहिर पनि निगरानीलाई बढाउन आग्रह गरेको छ । नेपालको भैरहवा, नेपालगन्ज लगायतका ठाउँमा अहिले आईसीपी निर्माणको काम चलिरहेको छ।

IMG_20240319_085045

कमेन्टहरु