मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख रुपैयाँ बराबर क्षति पुर्याएको तथ्यांक सार्वजनिक


काठमाडौँ । मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर सत्तरी लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ।
काठमाडौँमा एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गरिएको हो। अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो।
मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाख बराबरको आर्थिक हानी, नोक्शानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिए।
बाढीले प्रत्यक्ष हानी नोक्शानीभन्दा बढी गैरआर्थिक हानी नोक्सानी गरेको अध्ययन देखाएको छ। गैरआर्थिक हानी नोक्सानी तथ्यांक यसमा समेटिएको छैन। अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ। प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए।
वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए। उनले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताए। मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताए।
कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताए। नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपूर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको उनको भनाइ थियो।
मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिए।
मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्शानीबारे पहिलो पटक बृहत् अध्ययन सार्वजनिक भएको हो। यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ। जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको तथ्यांक संकलन गरेको हो।
यसअघि मेलम्चीको आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको अध्ययन गरिएको थिएन। साँस्कृतिक र धार्मिक क्षेत्रमा परेको असरबारे पनि अध्ययन गरिएको छ। गैरआर्थिक हानी र नोक्शानीले मौद्रिक हिसावले सजिलै मापन वा क्षतिपूर्ति गर्न नसकिने प्रतिकूल प्रभावहरूलाई बुझाउँछ।
यसले समुदाय र मानव जीवनको क्षति, सांस्कृतिक र सामाजिक प्रभावहरू, जैविक विविधताको हानि, सेवाहरूको अवरोधलगायतलाई समेटेको हुन्छ। अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औंल्याएको छ।






















