अपराध

नेपाली युवतीहरु दिल्ली लगेर यौन व्यवसायमा लगाउने एक दम्पती पक्राउ

जगत ठाडा मगर
२०८० पुस १६ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १६ । नेपालबाट युवतीहरु लगेर दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्‍धान ब्युरोले गत ११ गते उनीहरुलाई कञ्चनपुर सिमा ईलाकाबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका – ७ बस्ने ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टिका कुमारी वली छन् । टिका कुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी छन् । 

उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ पनि राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई दिल्ली पुर्याइ आफूले भाडामा लिएको अपार्टमेन्टमा यौन क्रियाकलाप गराएको आरोप छ । 

उनीहरूले अनलाइनमार्फत विज्ञापन गरी पीडितलाई व्यवसाय गराउने गरेको एसपी पंगेनीले बताए । ‘अपार्टमेन्टमा पनि सिसिटिभी जडान गरिएको छ । पीडितहरूलाई नयाँ फोन, सीम दिएर नयाँ ह्वाट्सएप, फेसबुक लगायतका खाता बनाउन दिएर पासवर्ड भने आफैंले राख्ने गरेको पनि देखिन्‍छ,’ उनले भने ।

ह्वाट्सएपमार्फत ग्राहकसँग कुराकानी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । पैसा तिरेपछि उनीहरूले पीडित महिलाहरूलाई बोलाएको ठाउँमा पठाउने गरेको पाइएको हो । यसरी काममा लगाएपछि पीडितलाई २० प्रतिशत दिएर बाँकी आफूहरूले लिने गरेको एसपी पंगेनीले बताए । 

उक्त दम्पत्तीले दिल्ली पुर्‍याएका ९ जना युवतीहरूको प्रहरीले गत चैत ७ गते उद्धार गरेको थियो । भण्डारी दम्पत्तीविरूद्ध ६ वटा मुद्दा दर्ता भएको छ । यस घटनामा संलग्न ३ जना प्रतिवादी पुर्पक्षको लागि थुनामा छन् । थप नेपाली युवतीहरूलाई दिल्ली लगिएको भन्ने सूचना पाएपछि गत पुस १० गते त्यहाँबाट पाँच जना पीडितको उद्धार गरी नेपाल ल्याइएको थियो । 

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

कमेन्टहरु