कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

जगत ठाडा मगर
२०८० पुस ३ | मध्यान्ह १२:०९ बजे

कैलाली, पुस ३ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सोमबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका – ५ का २६ वर्षीय बिरबहादुर चौधरी र पछाडी सवार २८ वर्षीय राजेश डगौरा घाइते भएका छन् । उनीहरुको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।























