यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?


साना । करिब चार वर्षदेखि तुलनात्मक रूपमा शान्त रहेको यमन फेरि पूर्ण युद्धतर्फ धकेलिने संकेत देखिएको छ ।
पछिल्ला केही दिनमा हुथी विद्रोहीहरूले सैन्य गतिविधि तीव्र बनाएका छन् भने सरकारी पक्षका सेनासँग विभिन्न मोर्चामा झडपहरू सुरु भएका छन् । यसले यमनमा पुनः व्यापक गृहयुद्ध सुरु हुने सम्भावनालाई बल दिएको छ । बुधबार हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियासँग सम्बन्धित दुईवटा जहाजमाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका थिए । उनीहरूका अनुसार ती जहाजहरूले साउदी बन्दरगाहमाथि आफूहरूले लगाएको नाकाबन्दी उल्लङ्घन गरेका थिए ।
दशकौँको युद्धपछि पनि शक्तिशाली हुथी
हुथी आन्दोलनले सन् २०१४ मा राजधानी साना कब्जा गरेपछि यमन लामो गृहयुद्धमा फसेको थियो । त्यसबेला सरकारी सेना कमजोर थियो र राजनीतिक नेतृत्व विभाजित अवस्थामा रहेको थियो । तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीसहित धेरै नेताहरू देश छोडेर साउदी अरबमा शरण लिन बाध्य भएका थिए । सन् २०१५ मा साउदी अरेबियाको नेतृत्वमा गठित अरब गठबन्धन यमन सरकारको समर्थनमा युद्धमा सहभागी भएको थियो ।
यद्यपि वर्षौँसम्म चलेको युद्धले पनि हुथीहरूको नियन्त्रण कमजोर बनाउन सकेन । उल्टै उनीहरूले राजधानी सानासहित उत्तरपश्चिम यमनको घना जनसंख्या भएको क्षेत्र आफ्नो नियन्त्रणमा राख्न सफल भए । यस अवधिमा हुथीहरूले यमनी सरकार, साउदी नेतृत्वको गठबन्धन, अमेरिका, बेलायत र इजरायलको सैन्य कारबाही सामना गरे पनि आफ्नो सैन्य संरचना जोगाउन सफल भएका छन् । विशेषगरी उनीहरूको मिसाइल र ड्रोन क्षमताले उनीहरूलाई क्षेत्रीय शक्तिका रूपमा स्थापित गरेको मानिन्छ ।
किन फरक छ अहिलेको अवस्था ?
यद्यपि हुथीहरू अझै पनि बलियो शक्ति रहे पनि विश्लेषकहरूका अनुसार अहिलेको रणनीतिक अवस्था सन् २०२२ अघिको भन्दा निकै फरक भइसकेको छ । अन्तर्राष्ट्रिय संकट अध्ययन समूहका वरिष्ठ विश्लेषक अहमद नागीका अनुसार पछिल्ला चार वर्षमा यमन सरकारभित्रको विभाजन केही हदसम्म कम भएको छ । राष्ट्रपतिको नेतृत्व परिषद्ले पहिलेभन्दा बढी समन्वयका साथ निर्णय गर्न थालेको छ । उनका अनुसार साउदी अरेबियाले पनि विभिन्न सरकार समर्थित समूहहरूलाई एउटै रणनीतिअन्तर्गत समेट्ने प्रयास गरिरहेको छ । यदि सरकारी पक्षले संयुक्त सैन्य रणनीति अपनाउन सफल भयो भने यसले हुथीहरूमाथि वास्तविक दबाब सिर्जना गर्न सक्छ ।
विगतमा यमन सरकारभित्र पनि विभिन्न समूहबिच मतभेद थियो । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबले फरक–फरक स्थानीय समूहलाई समर्थन गर्दा सरकारी पक्ष कमजोर बनेको थियो । तर पछिल्लो समय यमन सरकारले संयुक्त अरब इमिरेट्सलाई देशबाट बाहिरिन आदेश दिएको छ । त्यसपछि साउदी अरबले सरकार समर्थित विभिन्न समूहबिच समन्वय बढाउन सक्रिय भूमिका खेलेको बताइएको छ । यसले सरकार समर्थित सेनाको राजनीतिक तथा सैन्य एकता अघिल्लो अवस्थाभन्दा बलियो बनेको विश्लेषण गरिएको छ ।
यमनको उत्तरपूर्वी अल–जौफ क्षेत्रमा पछिल्लो समय हुथीविरोधी जनजातीय गठबन्धन गठन भएको छ । यसलाई युद्धको सम्भावित नयाँ मोडका रूपमा हेरिएको छ । यस गठबन्धनको सुरुवात स्थानीय जनजातीय नेता हमाद अल–हाज्मी पक्राउ परेपछि भएको मानिन्छ । हुथी प्रशासनसँग विवाद भएपछि उनी करिब ५० दिन हिरासतमा बसेका थिए। रिहा भएपछि उनले आफूले हिरासतमा अन्याय भोगेको सार्वजनिक रूपमा बताए । त्यसपछि विभिन्न प्रान्तका हजारौँ जनजातीय सदस्य अल–जौफमा भेला भएर हुथी प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए । राजनीतिक लेखक फुआद मुस्सेदका अनुसार पछिल्ला वर्षहरूमा कमजोर बनेका जनजातिहरू पहिलो पटक यति ठूलो सङ्ख्यामा एकताबद्ध भएका छन् । यदि यो गठबन्धन बलियो रह्यो भने यसले सरकारी सेनालाई महत्वपूर्ण सहयोग पुर्याउन सक्छ ।
लाल सागरको सुरक्षा अर्को चिन्ता
हुथीहरूले यसअघि पनि सन् २०२३ देखि २०२५ सम्म लाल सागर हुँदै जाने अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए । उनीहरूले ती आक्रमणलाई गाजामा भइरहेको युद्धविरुद्ध प्यालेस्टिनीहरूको समर्थनका रूपमा व्याख्या गरेका थिए । त्यसपछि अमेरिका, बेलायत र इजरायलले यमनका विभिन्न हुथी सैन्य अड्डामाथि सयौँ हवाई आक्रमण गरेका थिए । सन् २०२५ मा अमेरिका र हुथीबिच भएको एउटा सहमतिपछि समुद्री आक्रमण केही समय रोकिएको थियो ।
तर अहिले फेरि साउदी अरबसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएपछि समुद्री सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न भएको छ । साना सेन्टर फर स्ट्राटेजिक स्टडिजका अनुसन्धान प्रबन्धक याजिद अल–जद्दावीका अनुसार यदि हुथीहरूले साउदी अरेबियासँग सम्बन्धित व्यापारिक जहाजमाथि निरन्तर आक्रमण गरे भने यसपटक क्षेत्रीय प्रतिक्रिया पहिलेभन्दा धेरै व्यापक हुन सक्छ । उनका अनुसार लाल सागरको समुद्री मार्ग सुरक्षित राख्न क्षेत्रीय देशहरूबिच नयाँ सुरक्षा गठबन्धन बनाउनेबारे छलफल भइरहेको छ । यसमा अन्तर्राष्ट्रिय साझेदारहरूको पनि सहयोग रहने सम्भावना रहेको छ ।
ट्रम्पको कडा चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हुथीहरूले फेरि साउदी तेल ट्यांकरमाथि आक्रमण गरेपछि कडा प्रतिक्रिया दिएका छन् । उनले इरान र हुथी दुवैलाई ठूलो सैन्य सजाय दिने चेतावनी दिएका छन् । ट्रम्पका अनुसार यदि हुथीहरूले पुनः यस्ता आक्रमण गरे भने त्यसको जिम्मेवारी प्रत्यक्ष रूपमा इरानमाथि रहनेछ, किनभने हुथीहरू इरानको प्रतिनिधि समूहका रूपमा काम गरिरहेका छन् ।
यद्यपि हुथी नेतृत्वले भने साउदी अरेबिया र अन्य क्षेत्रीय शक्तिहरू लामो युद्धमा जान इच्छुक नरहेको विश्वास गरेको देखिन्छ । उनीहरूका अनुसार साउदी अरेबियाले आफ्ना पूर्वाधारमा निरन्तर आक्रमण सहनुभन्दा छिट्टै नयाँ सम्झौता खोज्ने सम्भावना बढी छ ।
विश्लेषकहरूका अनुसार हुथीसँग अझै पनि करिब दुई लाखभन्दा बढी लडाकु रहेको अनुमान छ । आवश्यक परे उनीहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रबाट थप दशौँ हजार समर्थकलाई युद्धमा परिचालन गर्न सक्ने क्षमता राख्छन् । त्यसैगरी मिसाइल, ड्रोन, भूमिगत सुरुङ, पहाडी क्षेत्रमा बनाइएका किल्ला तथा लामो युद्धको अनुभव पनि उनीहरूको बलियो पक्ष मानिन्छ । यद्यपि सरकारी पक्षको समन्वय, जनजातीय समर्थन र क्षेत्रीय सहयोग बढ्दै जानुले हुथीहरूको रणनीतिक चुनौती पनि बढाएको छ ।
अभूतपूर्व चुनौती
विश्लेषकहरूको निष्कर्षमा, अहिलेको परिस्थिति सन् २०२२ को युद्धविराम सुरु हुँदाको भन्दा सरकार समर्थित पक्षका लागि धेरै अनुकूल बनेको छ । तर यसलाई वास्तविक सैन्य सफलतामा रूपान्तरण गर्न अझै धेरै चुनौती बाँकी छन् । यदि सरकार समर्थित सबै सैन्य समूह एउटै कमान्डअन्तर्गत प्रभावकारी रूपमा सञ्चालन भए, विभिन्न मोर्चामा समन्वित कारबाही गर्न सके र साउदी अरेबियासहित क्षेत्रीय साझेदारको निरन्तर सहयोग प्राप्त भयो भने हुथीहरूको नियन्त्रण कमजोर बनाउन सकिने सम्भावना देखिन्छ ।
तर यदि फेरि आन्तरिक विभाजन, रणनीतिक असमझदारी वा बाह्य समर्थनमा कमी आयो भने हुथीहरूले आफ्नो वर्तमान शक्ति कायम राख्न सक्ने विश्लेषकहरूको भनाइ छ । यमनको गृहयुद्धले एक दशकभन्दा बढी समयदेखि लाखौँ नागरिकलाई मानवीय सङ्कटमा धकेलेको छ । अहिले देखिएको नयाँ तनावले पुनः पूर्ण युद्धको रूप लिएमा देशको मानवीय अवस्था झन् जटिल बन्ने र सम्पूर्ण मध्यपूर्वको सुरक्षा तथा अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत गम्भीर प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ ।





















