अर्थ

अर्थतन्त्रमा देखिएका समस्याहरू बिस्तारै हल हुँदै गएका छन् : अर्थमन्त्री डा.प्रकाशशरण महत

नवलपुर टुडे
२०८० मंसिर २८ | मध्यान्ह ०२:०८ बजे

ललितपुर । अर्थमन्त्री डा.प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरूको सीप विकास गराउन आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्न सक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताए ।

उनले नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने बताए ।उनले उद्योगहरूमा उत्पादन वृद्धि भए मात्रै उद्योग व्यवसायको लागत कम हुने दाबी गरे । महतले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरू महँगो हुने गरेको बताए । उनले भने, ‘नेपाली श्रमिकहरूलाई समय अनुकूल नयाँ–नयाँ प्रविधि सापेक्ष अनुरुपमा सिप विकास गराउन आवश्यक छ । नयाँ प्रविधिअनुसार श्रमिकहरूको सीप विकास भएमात्रै उत्पादन क्षमता बढ्छ । आयातको लागत घट्छ । भूपरिवेष्टित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरू महँगो हुने गरेको छ । लागत कम गर्ने कुरामा सबैले आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्छ ।’ 

उत्पादन वृद्धिको लागि नेपाली उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरूको प्रयोग गर्नुपर्ने जरुरी रहेको अर्थमन्त्री महतको भनाई छ । उनले ट्रेड युनियनहरूको नेतृत्वमा श्रमिकहरूको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले श्रमिकहरूको सीप विकास र क्षमता वृद्धि भए मात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री डा.महतले उत्पादन वृद्धि भएर उद्योगको लागत कम भए श्रमिकहरूको पनि तलबमान वृद्धि हुने बताए ।

कमेन्टहरु