यी तीन प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं, असोज ३० । देशभरबाट मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भू-भागमा बदली तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार बिहान गण्डकी, बागमती र मधेश प्रदेशका केही भू-भागमा मेघ गर्जन/चटयाङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जानकारी दिएको छ ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्यासहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ । देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
वर्षा तथा हिमपातका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।























