मैले धर्तीमा पाइला टेकेको दिन (जन्मदिन)


जन्मदिन !
आज असोजको महिना १२ गते म जन्मेको दिन । गर्मीयामको अन्त्य अन्त्यसंगै चिसो मौसमको सुरु शुरुवातको महिना पनि हो । म दशैको फुलपातीको दिन जन्मेको हो । गाउँको मौसम प्रकृति निकै चिसो भैसकेको थियो। कुहिराले फाँट सेताम्मे ढाँकिसकेका थिए ।
असार साउनमा रोपेको धान फाँटैभरी खेतमा धान झुलेर पाकी सकेका थिए । अँध्यारो रात। बिहिवार १० बजेको समय। भारी भएको मेरो बुवाको मन, कठिन मेरी आमाको प्रसव पीडा अनि परिवारको खुसीसहित आजैको दिन म जन्मिएको थिएँ। अर्थात दशैको फुलपातीको दिन । याद छ आमा म जन्मेको तीन दिनमा सुट्केरा( गौंट ) दिएर कान्छी फुपुको ढोगभेँट (टीका) दशैको दिन टीका फुकाई दिएको पनि । यी हजुरले नै भन्ने, सुनाउने गर्नु हुन्थ्यो ।
मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको दिन। मेरा बाबाआमा अभिभावक बनेको दिन। मैले संसार देखेको दिन। म पहिलो पटक रोएको दिन अनि आमा र बुबा खुसी भएको दिन।
आजैको दिन बुबामाथि थप जिम्मेवारी बढेको दिन। मैले यो धर्तीमा पहिलो पटक आँखा खोलेको, आवाज निकालेको, पाइला टेकेको दिन।
सायद मेरी आमाले बुबालाई भेटेको दिन, मायाप्रिती लगाएको दिन बिर्सनुभयो होला। उहाँहरूको विवाहको मिति पनि बिर्सनु भयो होला। आफ्नै जन्मदिन बिर्सनुभयो होला। जीवनका अति दुःखद पलहरू बिर्सनु भयो होला। तर कहिलै बिर्सिनुहुन्न मलाई जन्माएको दिन, मेरो जन्मदिन।
मेरो हजुरबुवाको पुरानो अनि सानो खरले छाएको २ तले घर थियो । जहाँ मेरा बाबाले आमालाई बिहे गरेर ल्याएर राख्नुभएको थियो। म जन्मनु अघि एक मेरो स्वर्गीय दाई जन्मिनु भएको थियो रे । कारणवश दुई बर्षपछि फेरि म पनि आमाको पेटमा हुर्किन थालेछु । आजैको दिन जन्म लिएछु।
मेरा बाबाआमाको बिहे भएको करिब दुई दशकपछि मेरो सानो अनि प्यारो घरको एउटा कुनामा जन्मिएको हुँ रे। जन्मिँदा मेरो नाक सानो थियो रे। म जन्मिने समयमा उहाँको साथमा मेरी दुईटी हजुरआमा र छिमेकी हजुरआमा हुनुहुन्थ्यो रे!
आफूले नखाएर मलाई खुवाउने आमा। आफूले नलगाएर मलाई कपडा लगाइदिने मेरो बुवा। हरेक क्षणमा म मुस्कुराएको देख्न चाहने मेरो परिवार।
यो महान् शब्दको म कसरी वर्णन गरू आमा ? यस संसारमा आमा नभएपनि म त शब्दमा यो सबै लेख्न व्यतित छु । मेरो जीवनमा कहिले यो सबै शब्द उतार्न पाउँला ? मेरो जीवनका धेरै लक्ष्य होलान, पूरा होलान्/नहोलान् तर बस मेरा भगवानरुपि स्वर्गीय आमा जहाँ रहेपनी सधैँ खुसी रहनु ।
मानिस कति निर्दयी छन् है ? भगवान खोज्न मन्दिर पस्छन् । किन पस्नु पर्यो मन्दिर ? आफ्ना आमाबाबालाई सधैँ माया गर, घृणा नगर। सधैँ आमाबाको भनेजस्तै काम गर, किन खोज्न जानु पर्यो भगवान ? म मन्दिर नि त्यही पाउँछु, भगवान नि त्यही पाउछु जहाँ मेरा आमाबाबा हुनुहुन्छ । हजुरहरूको चरणमा थिएँ, छु र सधैँ त्यही हुनेछु।
आमा, हजुर धर्ती हो। मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन। बुवा, हजुर आकाश हो। मलाई हरेक कुराको कमी हुन दिनु भएन। हजुरहरूले भन्नुहुन्थ्यो नि, ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफूभन्दा अगाडिको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको इज्जतको ख्याल गरेस्।’
म अहिले पनि हजुरहरूले सिकाएको बाटोमा छु। अहँ! मैले बाटो बिराएको छैन्। तर माफ गर्नुहोस् आमाबुबा, म संघर्षको महासंग्राममा छु । मैले हजुरहरूलाई खुशी दिन सकेको छैन। जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र ? मन नदुख्ने कसको हुन्छ र ?
मलाई मेरो घरपरिवार, आफन्तजन, इष्टमित्रको ठूलो साथ छ। सहयोग छ, माया छ, ममता छ, स्नेह छ र त म यहाँसम्म आएको छु। यदि हजुरहरूको साथ र सहयोग नभएको भए सायद आज यहाँ आइपुग्थेन होला ।
म भौतिक दूरीले बा-आमाभन्दा टाढा छु। टाढा भएपनि तपाईहरुको आशिर्वाद र साथ नपाएको भए सायद आज कुन राम्रो कुन नराम्रो ब्यक्ति छुट्ट्याउन सक्थेन होला । कयौं सघर्ष गरेर यहाँ उभिँन सकिँदैनथे होला । यो सबै हजुरहरूको प्रेरणा र सहयोगले हो। मलाई आशा छ, जिन्दगीभर हजुरहरूको आशिर्वाद, माया र प्रेरणा पाइरहनेछु।
म फेरि सोच्छु। मेरो आमा अनि बाबाको अपेक्षा मध्ये सबैभन्दा ठूलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ मेरो छोरा अर्थात् म। त्यो बेलाको दूधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा। म मेरो आमाबुवाको जीवन बिमा हुँ । तर, आमा आज तपाईनै संसारमा नहुदा संघर्ष गर्दै, भिर पाखा, उकाली ओराली, शत्रु नै शत्रुको भीड छिचोल्दै यहाँ आईपुगेको खल्लो नै छ ।
जीवनका हरेक पाइलामा हजुरहरूले गरेको संघर्षलाई नजिकबाट नियाल्न नपाए पनि राम्रोसँग बुझेको छु। बाबाले म अनि ठुला परिवारका लागि संघर्ष गरेका त्यत्रो परिवारलाई मिलाउनु भएको, अहिले सबैलाई राम्रो जीवन बिताउन सक्ने बनाउनुभएको छ ।
भारतमा व्यवसाय गरेर अझै पनि परिवारका हरेक सुख, खुसीका लागि संघर्ष गरिरहनुभएको छ। आमा तपाईंले घरमा किसान काम गरेर परिवारको सुखका लागि गरेका संघर्ष बुझेको छु।
यहाँ यदाकता विभिन्न प्रकारका भावसँगै सामाजिक सञ्जालमा फोटाहरू छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन्। बुढेसकालमा वृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि छन्। अनि आमाबाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तान पनि छन्।
म मेरो शरीरमा एक मुठी सास रहेसम्म हजुरहरूको आशिर्वाद कहिले खेर जान दिदैन । साँच्ची आफू जन्मेको दिन भन्नेबित्तिकै त्यो दिन निकै उज्यालो हुँदोरहेछ, रमाइलो हुँदोरहेछ, आनन्दित हुँदोरहेछ। अनि सबैको शुभकामना रुपी सन्देशहरू केलाइरहँदा पनि उत्तिकै हर्ष लाग्दो रहेछ।
कति बेला लाग्छ, समयले विस्तारै यो पृथ्वीमा मलाई नराख्नको लागी प्रयत्न गर्दैछ। मेरो अर्थ मलाई बुढो बढाउँदै छ। हिजो, आज, भोलि, एक दिन, हप्ता, महिना, वर्ष, दशक गर्दै यो संसारमा बाँच्ने दिनहरू कम हुँदैछन्।
जिन्दगीको परिभाषा नाटक रहेछ। हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन्। अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक अनि जिन्दगी पनि। नाटकको मञ्चन गर्दै मलाई यहाँसम्म ल्याउने सबैमा नमन्। हजुरहरूको वर्षौंवर्ष स्नेह पाईरहुँ ।

























