मुख्य समाचार

डिआईजी मैनाली र एसएसपी पाण्डे छिमेकी भएको आड्मा ढिडौला पिट्दै हुण्डी कारोबारी राज साह तेली

नवलपुर टुडे
२०८० भदौ २५ | मध्यान्ह ०२:०५ बजे

वीरगंज, भदौ २५ । सर्लाही जिल्ला निवासी वीरगंजमा स्थायी बसोबास गरिरहेका राज साह तेली र पर्सामा प्रहरी प्रमुखको जिम्मा पाएका हाल बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेबीचको हुण्डी कारोबार सन्दर्भमा अडिओ रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको सर्वविदितै नै छ ।

सो छानबिन समितिलाई प्रभावित पारिसकेको भन्दै हुण्डीमा संलग्न राज साह तेलीले ठाँउ–ठाँउमा ठोकुवा गर्दै छाती चौडा गर्दै हिडिरहेको तेलीको निकटवर्तीहरु बताउँदछन् । तेलीले छानबिनको कमाण्डर सुरेन्द्र मैनाली रहेको र उनी एसएसपी पाण्डेको छिमेकी भएको हुनाले कसैले केही गर्न नसक्ने भन्दै ढिडौला पिट्दै हिडेको उनको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।

एसएसपी पाण्डे र पाण्डेमाथि छानबिन गर्न गठित समितिका संयोजक डीआईजी मैनालीको काठमाडौंको सुकेधारामा सँगै घर रहेको बताईएको छ । आफ्नै छिमेकी रहेका पाण्डेमाथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका रहेको स्रोतको भनाई रहेको छ ।
हुण्डीको कार्यले करोडौं करोड कमाउन सफल भएका राज साह तेली उनी आफन्तहरुको नाममा अकुत सम्पत्ति जोडेको निकटवर्तीहरुको भनाई रहेको छ ।

पर्सा र बारा जिल्लामा हुण्डी भरियाहरुलाई ठाँउ–ठाँउबाट प्रहरीले समात्दा उनी भरियाहरुलाई छोडाउने दलालको रुपमा कार्य गर्ने गरेको स्रोतले जनाएको छ । बरिष्ठ प्रहरी उपरीक्षक पाण्डेले पर्सामा प्रहरी उपरीक्षक हुँदा “आफूनिकट” विभिन्न व्यक्तिको बैंक खाता दिएर हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाण सहित समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो ।

तर सो समिति पाण्डे र तेलीमाथि अनुसन्धान गर्नु भन्दा पनि उनलाई “चोख्याउन”का लागि बनेको पछिल्ला केही ढिलासुस्तीले देखाएको अनुमान गरिँदै छ । अडिओ रेकर्ड प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज साहसँग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ । राज साहले “पाँचको चेक” डिपोजिट गरिसकेको र “चालिसको चेक भोलि डिपोजिट” गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ ।

देशको अर्थतन्त्र तहसनहस हुनुमा मुख्य कारण मध्ये एक मानिएको हुण्डी कारोबार पनि हो । हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ । अवैध विदेशी विनिमय (हुण्डी) कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुण्डी कारोबारी विरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो । हुन्डी कारोबार विरुद्धको अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ ।

कमेन्टहरु