बुलिङटारको कोखेघाटस्थित कालीगण्डकी नदिमा डुबेर एक किशोर बेपत्ता

नवलपुर टुडे
२०८० भदौ ११ | मध्यान्ह ०५:०५ बजे

नवलपुर, भदौ ११ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका – ४ कोखेघाटस्थित कालीगण्डकी नदिमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।
आज (सोमबार) दिउँसो ४ बजेतिर कोखेटार बस्ने लिला बहादुर दराईको छोरा १४ वर्षीय सन्तोष दराई पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । उनीसँगै पौडी खेल्न गएका सोही ठाउँका बुद्धि सोमैको छोरा १३ वर्षीय समिर सोमैलाई भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु ३ जना साथी मिलेर पौडी खेल्न गएका थिए । दुई जना साथीलाई बगाएपछि पौडी नखेलेका १६ वर्षीय समिर थापाले घरमा आएर खबर गरेका थिए । घरमा जानकारी हुनासाथ परिवारले प्रहरीलाई खबर दिएका थिए ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

























