” मेरो आकाश “


– एकल यात्री माेटे
आहा..! हेर त…
सफा सुन्दर र मनमोहक मेरो आकाश
जहाँसम्म म कहिल्यै पुगेको छैन
न नाप्न सकेको छु, न कोमल स्पर्श गर्न
मलाई असाध्यै मन पर्ने मेरो आकाश
आफ्नो छात्ती चिरेर दिनभरी घाम लगाउँछे
शीत तुषारो ठण्डी र गर्मी नभनि
चकमन्न रातमा पनि मेरै लागि
जुन तारा बालेर मेरो मनलाई शान्त गराउँछे
दुलहीझैँ सजिँएकी मेरो आकाशलाई
रेडवाइनको मन्द मदहोशीमा चुम्न चाहन्छु
बर्षौ पछि भेटिएकी प्रियसीलाई झै
नफुत्किने गरी कसिलो अंगालोमा बाँध्न चाहन्छु
एई सुन त…
सधैं हाँसिरहने मेरो आकाश हेरेर
मनमुग्ध भई प्रेमको भाषामा कोइली गाउँछे
गौँथली नाच्छे, चीलहरू फेरो मार्छन
मृग उफ्रिन्छ, बाँदरहरू छलाङ्ग लगाउँछन
चरम आनन्दले प्रकृति नै स्खलित हुदाँको
दृश्यपान नगरी मेरा यी नयन म कसरी छोपौं
डाँफेझै बेगमार्दै मेरो नजर दौडन्छ
मेरो आकाश हेर्न म सधैं हतारिएको हुन्छु
सायद हैरान हुदीँहो रातको तेस्रो प्रहरसम्म
गनगन गर्दै मायाले घुर्कायाउछु अनि चुम्छु
मेरो वात्सल्य जवानी देखेर उ लजाउँछे
मन, मुटु र आखाँमा मलाई नै सजाउँछे
तर अफसोस…

कहिले काहीँ म निराश हुन्छु कालो बादलले
मेरो आकाश छोपिदिँदा, उ चिच्याउँदै रिसाउँदै
आगो ओकल्ने गरी हुरीको मुक्काले हान्छे
कायापलट हुने गरी बादल फुटाउँछे
मेरो बाझो धर्ति अनि मलाई रूझाउँछे
न देखिने बतासले मलाई छुदैँ भन्छ
देखिने तेरो आकाश खै त कहाँ छ ?
निशब्ध म स्तब्ध हुँदै मेरो आकाश हेर्छु
मेरो आँखा झुटो होकि मेरो आकाश
उ सम्म म अनि कोही कहिल्यै पुगेको छैन
तर उ छे र त यहीँ मेरो वरिपरि सधैं देखिन्छे
म महसुस गर्छु मेरो आकाश मिठो कल्पना हो।























