देश

साथिकाे मित्रता सबैभन्दा माथि – माेटे

नवलपुर टुडे
२०७७ चैत्र १० | मध्यान्ह १०:१२ बजे

“उ मेरो बाल्यकाल देखिको मिल्ने साथी

हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथि”

यम बुद्धको यी शब्दहरूमा भनिए जस्तै उ मेरो बाल्यकाल देखिकै मिल्ने साथी हो । विद्यार्थी जीवन देखि नै हामीमा आत्मियता थियो । सम्पन्न परिवारको रमाइलो वातावरणमा हुर्किएको उ अनि चरम गरिबीको अभावमा पिल्सिएको म, तर हाम्रो सम्बन्धमा कहिल्यै दरार आएन ।

उसको व्यवहारमा छुट्टै खालको मिठास थियो । मैले आफैँलाई भाग्यमानी ठान्थे, किनकि धेरै साथीहरू मध्ये उसलाई मन पर्ने साथी म नै थिए । हँसिलो मुहार र ठट्यौली स्वभावको उ पनि मेरो मुटुको धड्कन नै बनेको थियो । समयको गति सँगै उसको जीवनमा ठूलो भूकम्प आयो । बाध्यताले उ शहर पस्यो । गरिबीको कारण म पनि शहर पसे, विभिन्न ठाउँमा मजदुरी गर्दै मैले आफ्नो गुजारा चलाउन थाले । हाम्रो भेटघाट पातलिन थाल्यो । उसको सम्झनाले मन मष्तिष्कमा कब्जा जमाएपनि अहिलेको जस्तो सामाजिक संजाल र टेलिफोनको माध्यम नभएकोले यादहरूको चोटिलो प्रहार सहनुको विकल्प म सँग थिएन ।

केही बर्षको अन्तराल पछि हाम्रो भेट भयो । मनमा खुशीको सिमा थिएन । सायद उ शहरिया साथीहरूको सम्पर्कमा परेर होला अलिक भिन्न भएको महसुस गरे । मैले सोचे ‘के भयो त उसको मन बदलिए पनि म त उस्तै छु नि, म प्राय जसो उसको नजिक देखा पर्न थाले । हाम्रो भेटघाट फेरि बाक्लियो । केही समयको लागि भनेर म विदेश पलायन भए, तर सोचे जस्तो कहाँ हुन्छ र करिब दश बर्ष सम्म मैले विदेशी भूमिमा श्रमिक जीवन बिताउन पर्यो । उ पनि आफ्नै दुनियाँमा अल्मलिएको थियो । स्वदेश फर्किए पछि पुनः हाम्रो मित्रताले गति लियो । मैले मेरो अन्तरमनको हरेक कुराहरू उ सँग सेयर गर्थे, उसले पनि आफ्नो सबै खुशीहरू म सँग सेयर गर्थ्यो ।

तर उ आफ्नो दु:ख बाँडेर अरूलाई दु:खी बनाउन चाहँदैनथ्यो, त्यसैले आफ्नो मनको पीडा कहिल्यै सुनाएन । तर हरेक मानिसको झै उसको आखाँले पनि सत्य ओकल्थ्यो । म जति पटक उसको आँखालाई नियाल्थे उ त्यति नै पटक कुराहरू बङ्ग्याउथ्यो । आज मेरो लागि खास दिन, मैले उसलाई निमन्त्रणा दिए, कार्यव्यस्थताले आफू आउन नसक्ने भन्दै उसले मलाई नै बोलायो । उसले बोलाउने बित्तिकै केही खास अवश्य छ भन्ने अनुमान मैले लगाइ सकेको थिए । एक पछि अर्को गर्दै मेरो जीवनमा नभएको कामहरू भयो । यति रमाइलो पल मेरो जीवनमा सायदै आयो होला., तर दिनको उत्तरार्द्धमा माहोलले अलग्गै रूप लियो ।

मेरो साथी जो मेरो खुशीको लागि जे गर्न पनि तयार हुन्थ्यो । मैले उसको आखाँलाई ध्यानपूर्वक नियाले, उ मुहारमा चमक ल्याएर मलाई हँसाउने कोसिस गर्दैथ्यो । तर उसको आखाँमा अथाह पीडा थियो । मलाई असह्य भयो । आफैँलाई सम्हालेर मैले प्रस्ताव राखे, ‘हामी एकरातको लागि सुकुटे बिच या कतै घुम्न जाऔं ।’ मेरो बचन भुइँमा खस्न नपाउँदै बढो खुशी भएर उसले भन्यो । जानी हो साथी जानी हो, अलि गर्मी लागोस् न त्यसपछि हामी सुकुटे बिचमा गएर मस्ती गर्नुपर्छ ।

त्यहाँ गएर मोबाइल अफ गरेर बेहोस हुने गरी पिउन पर्छ । मैले उसको आखाँमा एकटक लगाएर हेरिरहे, परेलाहरू ओभानै थिए । तर त्यहाँ आँशुको सागरले सुनामीको रूप लिँदै थियो । छेवैमा बसेकी एउटी बहिनीले पनि उसको बोलीमा ध्यान दिएकी थिइ । उ बोलिरह्यो पीडा मिसिएको वाक्यहरू जहाँ उसको वास्तविकता झल्किरहेको थियो । ‘साथीहरूसँग घुम्न रमाइलो गर्न मलाई पनि त मन छ । सबै आफुले चाहे जस्तो कहाँ हुन्छ र यार, अब केही समय पर्खन अनि तिमी र म जान पर्छ । तिमी पिउँदैनौ क्यारे… मलाई सम्हाल्ने तिमी भैहाल्छौ म त ढुक्कै, चिल भएर खोलाको किनारमा पल्टने हो ।’ उ बोल्दै गयो.. मेरो ध्यान उसको बोलीमा कम आखाँमा ज्यादा थियो ।

म उसको आखाँको भावहरू पढ्दै थिए । त्यहाँ अन्तरमनका थुप्रै भावनाहरू गुम्सिएका थिए । नाप्न नसकिने सागर भन्दा गहिरा पीडाहरू उम्लिएर ज्वालामुखी बनी विस्फोट हुदैँ थिए । उसको आखाँबाट खस्न खोजेका आँशुहरू करोडौँ बर्ष अघि खसेर पृथ्वीलाई ध्वस्त बनाएका उल्का पिण्ड झै आक्रोशित लाग्दथे । यस्तो लाग्थ्यो आज उसको लागि जीवनको सबैभन्दा उत्तम दिन थियो । जहाँ उ आफ्नै दुनियाँमा ब्यापारमा रमाउँदै थियो । कल्पनामै भए पनि लाज, सरम, डर, त्रास, हिनताबोध या आत्मागलानी जस्ता समाजका बन्धनबाट मुक्त भएर स्वतन्त्र जीवन जिउदै थियो ।

अस्ट्रेलियाको सिँडनी बीच या दुबईको मरिना बीच कस्तो छ उसलाई मतलब छैन । भोटेकोशीको तीरमा अवस्थित नाम मात्रको सुकुटे बीच नै उसको लागि सिङ्गो ब्रह्माण्ड बनेको थियो । क्याम फायरको वरिपरि उभिएर बिभिन्न भाषाको गीतमा हल्लिएर रमाउँदै गरेका ठिटीहरूलाई उ स्वर्गको मेनका र अप्सरा ठान्दै थियो । धुवाँको मुस्लो आउने गरी काँठे कोइलामा पोलेको सेकुवा उसको लागि अमृत अनि बियर पञ्चामृत झै बनेको थियो । आफ्नै धुनमा मस्त रहेको उसले बियरको बोतल म तिर तेर्साउँदै भन्यो, ‘अरे जोगबीर एक चुस्की लगाएरत हेर जीवनको मज्जा यसैमा छ ।’

बर्षौ पछि हतकडी खोलिएको कैदीकोझै उसको शिरदेखि पैतालासम्म खुशीहरू बगिरहेको थियो । धेरै समयपछि पिँजडाबाट निकालिएको चराझै उड्न नजानेर पछारिएको उसलाई देखेर दया, माया जस्ता भावात्मक संवेगले मेरो आखाँहरू रसाएका थिए । समयको खेल कसले बुझ्न सक्छ र.! मेरो बोली फुटेन मैले मनमनै भने ‘मेरो प्रिय साथी नसाले यथास्थितिलाई बढाउने काम गर्छ । यदि तिमी खुशी हुँदा नसा लियौ भने अझै खुशी हुनेछौँ अनि दु:खमा नसा लियौ भने तिनै दुःखहरू तिम्रो मानसपटलमा आउनेछन् र तिमी अझै दु:खी हुनेछौँ ।’

म कति निर्लज्ज रहेछु.! मलाई संसार हाँसेको मनपर्छ । तर मेरो आत्मिय साथी नै यति धेरै पीडाको पोकाहरू बोकेर हिँड्दै रहेछ । उ भित्र पीडाको भकारी छ भन्ने सोचेको थिए । तर यति भयावह स्थितिमा पुगिसकेको छ भन्ने कुराको अनुमान लगाएको थिइन् । अब मलाई मेरो साथीलाई हँसाउनु छ । उसको स-साना खुशीहरू बटुलिदिनु छ । मैले हाम्रो मित्रताको धर्म निभाउँनु छ ।

कमेन्टहरु