देश

गाेपाल विश्वकर्माद्वारा “कामी” शब्द प्रयाेग बिरुद्द सर्वाेच्चमा रिट दायर

नवलपुर टुडे
२०७७ चैत्र ७ | मध्यान्ह ०८:१२ बजे

चैत ७,धरान ।
नेपाली बृहत शब्दकोशअनुसार “कामी” शब्दको अर्थ ‘कामवासनाले युक्त, कामुक, कामोत्तेजक, यौन पिपासु, स्त्रीलम्पट’ भन्ने अर्थ हुन्छ । यस्तो शब्द विश्वकर्मा जातिलाई प्रयोग गरेर अपमान गरिएको भन्दै “कामी” शब्दको प्रयोग खारेजीको मागसहित सर्वोच्च अदालतमा फागुन १८ गते मुद्दा परेको छ ।

मोरङ पथरीशनिश्चरे–१ बस्ने ५८ वर्षका गोपाल विश्वकर्माले सर्वोच्च अदालतमा रिटनिवेदन दर्ता गराएका हुन् । विश्वकर्मा एकता समाजको निर्णयबाट अध्यक्ष गोपाल विश्वकर्मा (लकान्द्री) ले सो मुद्दा सर्वोच्चमा हालेका हुन् ।

विश्वकर्माले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्, गृहमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय दलित आयोगलाई समेत विपक्षी बनाएर मुद्दा लगाएका छन् । परमादेश उत्प्रेषण मुद्दा दर्ता गराएका हुन् । अधिवक्ता गणेश दाहालले मुद्दा लेखनमा सहयोग गरेको दलित अधिकारकर्मी अमर बराइलीले जानकारी दिएका छन् ।

सरकारका विभिन्न तथ्य तथ्याङ्क, महत्वपूर्ण दस्तावेजहरूमा समेत “कामी” शब्द प्रयोग भईरहेको छ । शब्दले पनि मानिसलाई घृणित बनाएको, शब्दले निच भावना उत्पादन हुने, उच्चरणले ओठ ल्योप्र्याउने, यो त “कामी” भनी औला ठड्याउने, “कामी”बाटै उखान टुक्का बनाएर प्रयोगमा ल्याउन खोज्ने, गाउँघरमा जेठो “कामी”, साईलो “कामी”, मसेनि “कमिनी” भनी माया गरेजस्तो बहाना बनाई होच्याउने जस्ता कुराले समुदायहरूलाई नै ठुलो असर पु¥याएको छ ।
रिट निवेदक विश्वकर्माले भने– ‘शिक्षित र सभ्य मानिसहरुमा समेत “कामी” शब्दले यो त “कामी” रहेछ, कोठा छैन भनी धेरै गैरदलित समुदायलाई मुद्दा समेत लागेको छ । कोठा पाईदैनकी भनेर शिक्षित दलित अगुवाहरुले नै आफ्नो थर र जातिलाई कोड भाषामा गैरदलितसँग मिल्ने थर राखी आफु पनि नक्कली गैरदलित भई यद्यपि बसिरहनु भएको छ, यो समस्या थरको स्थानमा “कामी” भएकोले नै यसरी बाध्यताले राख्नु परेको हाम्रा आँखा अगाडि छन् ।’

‘को हुन् दलित ?’ नामक पुस्तकको पेज नं. ३९ मा ‘जात र थर फरक हो’ भन्ने विषयमा लेखक तारा लामगादेले लेखेका छन्– ‘धेरैलाई लाग्न सक्छ जात र थर एउटै हो । तर यी फरक फरक शव्द र अर्थ पनि हुन् । जात भनेको नेपालको ११ औँ जनगणना २०६८ अनुसार १२५ जातजातिको नेपालमा बसोबास रहेको छ भने थर यति नै छन् भनेर आज सम्म कुनैै यकिन तथ्याङ्क भएको थाहा छैन । सवै समुदायका आ–आफ्नै थरहरु रहेका छन् । बाह्मण, क्षेत्री, कामी (विश्वकर्मा), दमाई, नेवार, मगर आदि जात हुन् भने खनाल, कोइराला, श्रेष्ठ, परियार, थापा, कार्की, मण्डल, दास आदि थरहरु हुन् ।

अरु समुदायका थरहरुको प्रचार–प्रसार र प्रयोग सहजै भए पनि दलित समुदायका थरहरुको प्रचारप्रसार र प्रयोग खासै भएको पाइंदैन । राज्यबाट पाइने सेवा सुविधाबाट वञ्चित भइने डरले दलित समुदायले आफ्नो थर लेखाउने हिम्मत आजसम्म गर्न सकेका छैनन् । कतिपय लेखेकाहरुले पनि अनावश्यक दुःख, झन्झट भोगेका प्रशस्तै उदाहरण छन् ।

पूर्वका दलितलाई पश्चिमका दलितहरुको थर थाहा छैन, पश्चिमकालाई पूर्व को । यसका लागि व्यापक प्रचार प्रसार गर्नु आवश्यक छ । अब दलित समुदायका जो कोहिले पनि नाम पछाडी जात होइन थर लेखाउनु र लेख्नुपर्छ । दलित समुदायका पनि अरु समुदायका जस्तै थरहरु हुन्छन् भनि राज्यले स्वामित्व वोध नगर्दा धेरैले दुःख पाइरहेका छन् । २०७५ साल श्रावण २३ गतेको मन्त्रिपरिषद वैठकले जातीय सिफारिस तथा प्रमाणित स्थानिय तहले गर्ने निर्णय भएपछि यीे समस्या झनै बढ्दै छन् ।

एकातिर स्थानीय स्तरमा काम गर्ने कर्मचारी अनभिज्ञ छन् भने अर्को तिर यिनीहरुलाई किन जान्ने भएर हाम्रा जस्तै थर लेख्न दिने भन्ने मनोविज्ञान पनि छ जसले गर्दा त्यसको मार आम दलित समुदायले भोग्नुपर्ने र समस्या झेलिरहनुपर्ने अवस्था आउँदा दिनमा अझ बढ्ने निश्चित नै छ । जसको लागि दलित समुदायका आम नागरिक, नागरिक अगुवा, अधिकारकर्मी, सांसद, मन्त्री, राजनैतिक दल लगायत सवै जागरुक हुनुका साथै राष्ट्रिय दलित आयोगले यस अघि सुचिकृत गरेका थरहरु सवै स्थानीय सरकार, प्रदेश सरकार र सबै सरकारी कार्यालय निकायहरुमा परिपत्र र जानकारी गराई कार्यान्वयन गर्नु गराउनु अत्यावश्यक छ ।’

त्यसैगरी सोही पुस्तकको पेज नं. १५५ मा लामगादे लेख्छन् ‘मैले संगत गरेका मध्ये दुई जना मित्रहरु रमेश गजमेर र दलमर्दन कामीले ‘म दलित होइन, कामी हुँ, कामी’ भनेको सुने । त्यस्तै केहि दमाई र सार्कीले पनि ‘दमाईलाई दमाई र सार्कीलाई सार्की भन्दा के भो ?’ भनेर रिसाउँदै गरेको पाएँ । शाब्दिक अर्थमा पनि कामी, दमाई, सार्की जस्ता शब्द गालीगलौच र अपाच्य छाडा शब्द हुन् । यसको जानकारी नभएर भन्दा पनि बिचरा रमेश र दलमर्दन जस्ताहरुको नागरिकतामा अहिले पनि कामी नै थरको रुपमा लेखिएको रहेछ ।

हामीलाई थरको आवश्यकता जन्मदर्ता देखि नै आवश्यक पर्छ र मृत्युपर्यान्त पनि लेख्नैपर्छ । दलित समुदाय भित्रका सबै जातिका आ–आफ्नै थर छन् । तर त्यो ज्ञान नभएर हो वा शासक वर्गले अहिले पनि लेख्न नदिएका कारण हो थरको सट्टामा जात लेखिरहेका छन् । जात लेख्नुपर्ने वा भन्नुपर्ने भए जात भन्नु तर थर लेख्नु वा भन्नुपर्ने ठाउँमा थर नै लेख्नुपर्छ । जस्तो तपाईको नामका पछि थर नभएर जात छ भने पनि आफ्ना बच्चाको नाम पछि थर लेख्नुहोस् जन्मदर्ता गराउँदै । थर लेख्नुपर्छ, जस्तो कि एउटा बाहुनले रामप्रसाद बाहुन लेख्दैन । उसले रामप्रसाद खनाल वा रामप्रसाद भट्टराई लेख्छ । उसको बाहुन जात हो र खनाल, भट्टराई, नेपाल, दाहाल जस्ता थर हुन् । हामीले जात, समुदाय र थरबीचको फरक छुट्याउन सक्नुपर्छ ।

कसैको नागरिकता वा अन्य कागजातमा नामको पछि कामी, दमाई, सार्की जस्ता अपमानजनक र हिनताबोध हुने शब्द छन् भने जिल्ला प्रशासन कार्यालयबाट नागरिकतामा थर सच्याउन वा संशोधन गर्न सकिन्छ । त्यसका लागि वडा कार्यालयबाट सिफारिस गराउनुपर्छ । धेरै व्यक्तिले थर भन्दा भन्दै नागरिकता वा अन्य कागजात कतै अरुले हेरे भने अपमानित हुन्छु भन्ने चिन्तामा हुन्छन् र आफ्नो डकुमेन्ट गोप्यमा नै राख्छन् कारण त्यहि थर हो । कम्तिमा आफ्नो थर भएको भए निडरताका साथ सो गर्न सक्थे । यसैले नामको पछाडी जात होइन थर नै लेखौं ।’

कमेन्टहरु