कांग्रेसकी पुष्पा भुसाललाई उपसभामुख उम्मेदवार बनाउने गठबन्धनमा सहमति

नवलपुर टुडे
२०७९ असार २९ | मध्यान्ह ०६:०३ बजे

काठमाडौं, असार २९ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ ।
कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनबाट उम्मेदवार बन्ने पक्का भइसकेको स्रोतले जनाएको छ । यसअघि नै सत्ता गठबन्धन दलहरुबीच उपसभामुख कांग्रेसलाई दिने सहमति भएको थियो । उपसभामुखका लागि भोलि बिहीबार मनोनयन दर्ता र पर्सि शुक्रबार निर्वाचन हुनेछ ।
भुसाल यसअघि पनि उपसभामुख पदमा उम्मेदवार बनेकी थिइन् । उनी २०७४ चैतमा भएको चुनावमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी हुन् । २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त हुँदै आएको छ ।






















