आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै


काभ्रेपलाञ्चोक । यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ ।
व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा-आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन् । यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अघ्र्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिए । उनका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन् ।
उनका अनुसार अन्तिम दिन श्रद्धापूर्वक व्रत कथा सुनेर हवन गर्ने, साँझपख चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अघ्र्य अर्पण गर्ने परम्परा छ । त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिँदै महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि यो व्रत सम्पन्न हुने उनले जानकारी दिए ।
६ वर्षदेखि निरन्तर महालक्ष्मी व्रत बस्दै आएकी बनेपाकी स्थानीय प्रमिला खड्काले १६ दिनसम्म नियमपूर्वक छुट्टाछुट्टै १६ वटा सामग्री राखेर महालक्ष्मीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले आफूले व्रत गरेको बताइन् । यस अवसरमा महालक्ष्मी अष्टकम् पाठ गर्नाले घरको दरिद्रता नाश भई सुख, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वास रहिआएको उनले बताइन् ।
भगवान् शङ्करले भगवती पार्वती र देवराज इन्द्रलाई महालक्ष्मीको व्रत तथा पूजा-आराधना गर्न भनेपछि उनीहरूले यो व्रत गरेकाे विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पुराणवाचक सुवेदीले बताए ।






















