बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठक आज बस्दै


काठमाडौं, असार २८ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठक बस्दै छ । भट्टराई पक्षले आज बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीस्थित रोयल जडीबुटी पार्टी प्यालेसमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।
भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार बिहीबारसम्म चल्ने बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ । उनका अनुसार छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद सदस्यलाई पठाइएको छ । बैठकमा अध्यक्ष भट्टराईले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी छ ।
पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । जसपाको उपेन्द्र यादव पक्षले पनि बिहीबारदेखि वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ ।






















