एउटा मृतप्रेम र मरेकाे आत्मा


कहिले काही उसको अनुहार झली झली याद आउछ । उ संग बिताएका समयहरु, उ संग बिताएका पलहरु, उसंगका कुराहरु कहिलेकाही मनस्पटलमा धक्का दिन आइपुग्छन । कहिलेकाही झसंग हुन्छु, आँफैसंग झस्किन्छु र एकै छिनमा आफुलाई सम्हाल्छु र आँफैलाई भन्ने गर्छु, “मरेका आत्माहरुको सम्झना किन घरी घरी आइरहन्छन ?”
आमाले चिया लिएर आउँदै हुनुहुन्थ्यो । म जाराक जुरुक्क उठेर भित्तामा अढेश लगाएर बसे । आमाले हातमा चिया दिए संगै आफ्नो आँखाहरु बन्द गरेर प्रार्थना गर्न थाले । मेरो प्रार्थनाको आमेन सम्ममा आमा मेरो नजिक हुन्नहुन्नथिएन । मैले आफ्नो चियाको पहिलो चुस्की लिए । बिहान बिहानको गुलियो दुध चियाले दिन भर मुख मिठो बनाइराख्छ । त्यसैले घरमा सबैले ब्लाक टि खादा समेत मलाई चाँही मिल्क टि नै चाहिन्छ । चिया सिध्याउनै लाग्दा नजिक आएर आमाले सोध्नु भयो,”हिजोको कुरामा के बिचार गरिस त ?”
मैले झल्यास्स सम्झिए, हिजो आमाले भनेको कुरा र भने,”अहिलेको जमानामा पनि, को फोटो हेरेर बिहे गर्छ त ?”
आमाले हाँस्दै भन्नु भयो “अरु कोही मन पर्या छ भने भन्न त !”
मैले आमालाई हसिलो जवाफ दिए, “मन त अब पराउने हो । “
चियाको ग्लास लिदै आमाले अलि गम्भिर भएर भन्नुभयो, “अब त सोच है ! अनि सोच्दा खेरि मेरो लागि होइन आफ्नोलागी सुहादो सोच । तेरो सेवकायीमा सघाउने खाले ।” उहाले अझै थप्नु भयो, “मैले भनेकी केटी धेरै राम्री छ आत्मिकी छ । बप्तिष्मा भसकेको, मैले चिनेको ! एक चोटि हेर्छस भने भन ।
आमाले मलाई फोटो देखाउनु भयो । फोटोमा उ त्यती खासै राम्री त होइन त नराम्री पनि थिईन । मैले उसको नाम सोधे र फेसबुकमा सर्च गरे ।
भेटिएन ! आमाले भन्नु भयो यसलाई सेवासंगती बाहेक अरु केही थाहा छैन, फेसबुक चलाउदिन । तर म आमाको कुरामा कन्भिन्स हुन सकिन । फेसबुक त पक्कै चलाउछे, किनभने आजकल फेसबुक नचलाउने कहाँ पाईन्छन र ? आमासंग उसको नम्बर सोधे ?
“त्यो त पत्ता लगाउनु पर्छ नि ! मन पर्यो भन्न न ! अहिले पत्ता लगाइदिन्छु ।” आमाको अवाफ यस्तै थियो ।
म फोटो हेरेर मान्छे मन पर्यो भनेर जिन्दगीमा ठुलो गल्ती गर्ने सोचमा थिईन । मैले भने “केटी राम्री नै छ तर मन चाँही परेको होइन । नम्बर पत्ता लाग्यो भने उसंग कुराकानी हुन्छ र लाइफमा निर्णय गर्न अलि सहज हुन्छ भनेर मात्र हो । ‘
आमाले भन्नु ‘यस्तो गोल गोल म बुझ्दिन । भरै काकीलाई सोधेर भनौला ।’
अब बल्ल मैले थाहा पाए यो कुरा हाम्रो फतफते काकीबाट आको रैछ । सबै भन्दा बढी उहालाई म अबिवाहित बसेर पेट पोलेको छ । थाहा छैन किन हो जहिल्यै बिहेको कुरा गर्नेमा उहा कै नाम अगि पर्छ ।
म त्यस दिनभर सोचिरहे । साचै मेरो बिहे गर्ने बेला भकै हो त ? पर्मेश्वरले साचै मेरो निम्ती कस्तो जोडी तैयार पार्नु भएको होला ? म एउटा युथ लिडर ! सेवकायीको क्रममा केटी नभेटेको, नदेखेको, नहेरेको वा कसैले आफुलाई मन न पराएको भन्ने होइन तर मैले आफुलाई अझै विवाहको निम्ती समय छ है भनेर विवाह तर्फ आफ्नो सोच तैयार पार्नै सकिन । तर अब त, २६ बर्ष पुगेछु । अबिवाहित हुँदा सेवाकायीमा पनि एक्लो भएको भान भईरहेको हो कि जस्तो लागेको छ । सबै भन्दा गाह्रो साथीहरुको विवाह भोजमा….. सबले, कहिले बिहे गर्ने भनेर सोधेर हैरान । पर्मेस्वरको समयमा सवै भैहाल्छ नि । मानिसहरुलाई किन खसखस लाग्छ ?
म काम गर्दा गर्दै आमालाई फोन गर्छु र सोध्छु, नम्बर पाउनु भयो कि भनेर । उहाले मलाई दिउसो दुई बजेको तिर उसको नम्बर दिनु भयो । मैले त्यो नमबरलाई डायल कलमा पेष्ट गर्दै सिम 1 बाट फोन लगाए । मनमा कता कता डर लागिरहेको थियो । के भन्ने होला भनेर । लामो घण्टी जादा जादै नउठाए नि हुन्थ्यो जस्तो भईरहेको थियो । साचै फोन उठेन, लामो सास फेरे । एक छिन सोचे र त्यो नम्बरलाई फेसबुकको सर्च अपसनमा गएर सर्च गरे । त्यो नम्बर बाट गरिएको सर्चको रिजल्टमा एउटा क्रुशको प्रोफाइल पिक्चर भएको एउटा नाम आयो जहाँ ग्रेस गीता लेखिएको थियो । मैले थाहा गरे उ उही हो ।
उसको पोष्टहरु निंगाल्न थाले । उसको सबै भन्दा लेटेष्ट पोष्टमा मेरो आँखा अडियो । केही दिन अगाडि मात्र राखेको त्यो स्ट्याटसले म एक्छिन सोचमग्न भए र उसका अरु पोष्टहरु सबै निगाले । उसको पहिलो स्टाटसमा नै म अड्कीसकेको थिए तर अझै तल हेर्दै गए । उसका पोष्टहरु बाइबलका पदहरु, फोटोहरु र प्रार्थानाहरुले भरिएका थिए । म फेरि माथि नै आए । उही ठाउँमा जहाँ मेरो आँखा अगि गडिसकेको थियो । उसको त्यो स्ट्याटस जहाँ लेखिएको थियो, “शारिरिक अभिलाषाले भरिएको प्रेम शरीरमा गएर टुङिन्छ तर आत्मिक प्रेम अनन्तको हुन्छ ।”
उसले कसलाई र किन लेखेको मलाई थाहा छैन तर मलाई उसको त्यो लेखले कता कता मन छोयो । सिम्पल नाम थियो उसको गीता तर शायद अरु कसैले सजिलै नपाउन भनेर होला फेसबुकमा भने ग्रेस गीता राखिएको थियो । मलाई उसको अन्त्यम स्ट्याटसले सोच्न वाध्य बनायो । “शारिरिक अभिलाषाले भरिएको प्रेम शरीरमा गएर टुङिन्छ तर आत्मिक प्रेम अनन्तको हुन्छ ।”
मैले फेरि त्यही नम्बरमा फोन लगाए तर फोन उठेन ।
साझको प्रहर मलाई एउटा अपरिचित नम्बरबाट आयो । मैले फोन रिसिभ गरे । उसको तर्फबाट केही कुरा नगरी एउटा प्रश्न बाण मात्र त्यंहा तेर्सिएको थियो ।
“अगी यो नम्बरबाट मेरोमा दुई चोटि फोन आको रैछ । को बोल्नु भयो ?”
उसको स्वरहरु कति मिठासका थिए । म एक छिन अकम्मक्क भए । मैले थाहा पाइसकेको थिए कि उ गीता हो भनेर ।
मेरो मुखबाट एउटा शब्द मात्र निस्कियो, “जयमशिह !”
उसले “जयमशिह ! को बोल्नु भयो ?” भन्दै फेरी त्यही प्रश्नले प्रहार गरी । मैले आफ्नो परिचय दिनु त कसरी दिनु ? म अन्यौलमा थिए । मैले अन्यौलताको बादललाई चिर्दै शाहस गरेर भने, “म सुदिप ! मैले बिमला काकीबाट तपाईं को नम्बर पाएको ।”
उसले अझै सोधी,”ए हजुर भन्नुस न केही काम थियो कि ?”
मैले सत्य कुरा गर्नै पर्यो,”मेरो घरमा तपाईंको फोटो रैछ ।” यती मात्र भने र चुपचाप बसे
अलि अचम्म हुँदै,”ह्म्म ? अनि ?” उसको यस्तो प्रतिकृया थियो कि शायद उसलाई फोटोको बारेमा केही थाहा नै छैन । त्यो फोटो सम्बन्धित मान्छेलाई नसोधी त मेरो घर सम्म आएन होला ? त्यही पनि मैले मुख फोरेर नै भने, “हाम्रो विवाहको लागि भनेर तपाईंको फोटो मेरो घर सम्म आइपुगेछ । मैले सबै कुरा बुझेर मात्र कुरा अगाडि बढाउ भनेर !”
अब चाँही उ ठेगानमा आई र चुपचाप बसी ! म पनि के बोलौ बोलौ ! केही शब्दहरु नै पाइन । “पछी कुरा गर्छु नि है ।” यति कै मा उसले सबै कुराको बिट मारि र फोन राखी । मलाई कता कता खिन्नता महसुश भयो । मैले शायद फोन नगरेको भए हुन्थ्यो अथवा फोन गरेर केही अरु नै बिशेष कुराकानी गरेको भए हुन्थ्यो । मलाई केटीहरु संग कुरा गर्नै आउन्न के ! म नि कोग्लेटो नै छु । शायद त्यही भएर अझै अबिवाहित छु । मैले फेरि त्यो नम्बरमा फोन गर्ने आट गरिन । यसरी हप्ता दिन बित्यो ।
यि एक हप्तामा मैले अनेक चोटि उसको फेसबुकको वालहरु हेरे । यो एक हप्ता उसले आफ्नो फेसबुकको वालमा नयाँ केही पोस्ट गरेकी थिईन । मैले यसबाट बुझे कि उ फेसबुक धेरै कम चलाउछे । म जहिल्यै उसको अन्त्यम पोस्टमा गएर अड्किन्थे जहाँ लेखिएको थियो “शारिरिक अभिलाषाले भरिएको प्रेम शरीरमा गएर टुङिन्छ तर आत्मिक प्रेम अनन्तको हुन्छ ।”
उसको स्ट्याटसले घरी घरी उसंग आत्मिक प्रेमको निम्ती मलाई अभिप्रेरित गरिरहेको थियो । शरीर वा शारिरीक बनावटलाई हेरेर मात्र होइन पूर्ण मन र पूर्ण आत्माबाट गरिने दुई आत्माको प्रेम जुन पर्मेस्वरको आत्मामा केन्द्रित हुन्छ । मैले बुझेको आत्मिक प्रेम यही थियो ।
मलाई थाहा छैन किन किन मेरो सुहाउदो जोडी उही हो भन्ने भान हुन थाल्यो । आमालाई पनि भने, हामी दुवै जना प्रार्थनामा बसेउ ।
मेरो केही दिनमा पाष्टर अभिशेक कार्यक्रम थियो । मलाई युथ पाष्टर भनेर मण्डलीले एउटा महान कामको निम्ती अभिशेक गर्दै थियो । यसै बिच मैले गीतालाई आफ्नो प्रार्थनामा राखिरहेको थिए ।
मैले उसलाई केही दिन अगाडि फेसबुक रिक्युष्ट पठाइ रहेको थिए । उसले मलाई य्याड गरिछ । म एकदमै खुशी भए तर बोल्ने आट भएन ।
हामी उसको घर जाने निर्णय गरेउ । पाष्टर बुवा मेरो आमा एक जना मेरो साथी र म उसको घरको बैठक कोठामा थियौ । पहेलो कुर्ता लगाएको उसलाई मैले पहिलो चोटी देखे । म एक छिन हेरेको हेरै भए । धेरैले भन्छन फोटोमा मान्छे धेरै राम्रो देख्छ तर फोटो भन्दा धेरै वास्तविक उसको अनुहार यति राम्रो लाग्यो म बर्णन गर्न सक्दिन । उसको आँखा, सर्लक्क परेको नाक, अलि सानो ओठ, सानो र ठीक्क शरीर । उसको बनावट हेरिरौ जस्तो लाग्यो । फेरी एकै छिनमा उसको स्ट्याटस सम्झे र उसको शरीरलाई हेर्न छाडे ।
त्यहा म मात्र अपरिचित थिए । सबैले एक अर्कालाई चिनिरहेको । हाम्रो फतफते काकीले गरेर मेरो आमाले परिवारसंग पहिल्यै नै कुरा गरिराख्नु भएको रैछ अनि गीताको बुवासंग मेरो पाष्टरको पहिल्यै देखी चिनाजानी !
पाष्टर बुवाले म तिर ईशारा गर्दै भन्नु भयो अब कुरा सुरु गरौ होइन ?
औपचारिकता लिन र दिन केही आवश्यक थिएन किनकी त्यहा हामी के लागि गएका थियौ दुवै पक्षलाई थाहा थियो । कुराकानी भयो र अन्त्यममा गीतालाई मेरो पाष्टर बुवाले सोध्नु भयो,” छोरी तिम्रो इक्ष्या के छ त ?”
मेरो मन ढुकढुक भयो । उ एकछिन चुपचाप रही । मेरो आँखाहरु उ तिर थियो । मैले सबैलाई निंगाले सबै जना उसको जवाफको प्रतिक्षामा थिए । उसले शिर निहुराएर गम्भिर भावमा भनि, “म तयार छु ।”
सबै जनाको ओठमा एक प्रकारको मुस्कान छायो । मेरो साथीले म तिर आँखा सन्काउदै मलाई ईशारा गर्दै थियो । कुनै फ्लिमको द्रिश्य जस्तै लागिरहेको थियो । शायद मागी विवाह यस्तै हुन्छ होला ! तर मलाई डर, मागी विवाह शरीर हेरेर गरिने विवाह होइन र ? जहाँ एकले अर्कालाई अनुहार हेरेर वा अरुले भनेको कुरालाई मानेर विवाह गर्छन् । मेरो प्रश्न मै सग थियो । पाष्टर बुवाले म तिर हेरेर, “अरु केही सोध्नु छ ?” भनेर हासोका साथ सोध्नु भयो । मैले गीता तिर हेरेर सोधे,”के गर्दै हुनुहुन्छ ?”
उसले भर्खर JMC बाट BTH सिध्याएर बसेको भन्ने जवाफ दिई । त्यस पछाडी अरु के सोध्नु थाहा नै भएन । BTH सिध्याएर बसेको भन्ने बितिक्कै मैले सबै प्रश्नको जवाफ पाए जस्तो लाग्यो । फ्लिम तिर त्यसरी केटी माग्न जादा केटा केटीलाई मात्र एकान्तमा गफ गर्ने समय दिएको देखिन्छ । तर मेरो केसमा त्यस्तो थिएन । मैले एक्स्पेक्ट गरेको एकान्त समय त्यहा थिएन । मैले अरु के सोध्ने के भन्ने केही थाहा भएन ।
हामी एक अर्काको बिपरित बसिरहेका थियौ । उसंगै मेरो आमा, यता पट्टी मेरो पाष्टर र उसको बुवा अनि उसको बिपरित म र मेरो साथी ।
४ दिनमा मेरो पाष्टर अभिशेक हुने कार्यक्रम थियो । त्यसको २ दिनमा शनिवारको दिन हामी इंगेजमेन्ट गर्ने भयौ । पाष्टर अभिशेकको दिन उसलाई पनि आउन लाई अनुरोध गरे । त्यही दिन भेटौँला भनेर हामी निस्कियौ ।
त्यहाबाट निस्केपछी म हर पल उसलाई मात्र याद गर्न थाले । उसको मुस्कानको मात्र याद आउन थाल्यो । उसको नम्बर पनि नभको होइन तर फोन गर्ने आट नै आईरहेको थिएन । मलाई पहिलो चोटि यस्तो हुँदै थियो ।
आँखा बन्द गर्दा त्यही पहेलो कुर्थामा नजिकै चिया दिन आउथि । मिल्क टि ! आँखा खोल्दा लजाएर मुन्टो निहुराउथी र घरी घरी दोहोर्याउथी,”म तयार छु । “
मैले मेरो पाष्टर अभिषेक अघिल्लो दिन उसलाई फोन गरे किनकी त्यो दिन मसंग बहाना थियो, प्रोग्राममा आउछौ कि आउन्नौ भनेर सोध्ने ।
उसले आफ्नो फोन उठाइ र अपरिचित जस्तै फेरि सोधी
“को बोल्नु भको ?”
मैले जयमशिह भने, यति बेला भने उसले मलाई चिने जस्तै गरी बोली
सञ्चै हुनुहुन्छ ?
उसको त्यो सोधाईले मलाई मनमा एक प्रकार शान्ती मिल्यो
अगि सम्म म एक प्रकारको बिरामी नै थिए उसंग कुरा गर्न नपाएर उसको एक प्रश्नले म सन्चो भए जस्तै लाग्यो ।
अ ठीक छु । तपाईंको के छ ?
उसले मलाई “तपाईं नभन्नुस मलाई तिमी भन्दा हुन्छ भनेर तिमी सम्बोधन गर्न अनुरोध गरी ।
मलाई अप्ठ्यारो लाग्यो ।
उ भोली पल्टको कार्यक्रममा आउने भई । त्यो दिन मेरो निम्ती बिशेष थियो ।
बुवाको मृत्यु पछि एक्लिएको हाम्रो जीवनमा एउटै सहरा पर्मेस्वर हुनुहुन्छ । जसलाई मैले प्रभु र मुक्तिदाता भनेर स्विकार गरिसके पछाडि मैले जीवनको साचो अर्थ बुझे । मैले हिजो जिईरहेको जीवन, जीवन थिएन तर मलाई थाहा छ आज मैले जिईरहेको जीवन साचो जीवन जो पर्मेश्वरमा अनन्तको छ । म आफुलाई धेरै अशिषित ब्यक्ति महसुस गर्छु । मेरो आशिषपूर्ण जीवनमा त्यो दिन बिशेष दिन थियो, म पाष्टर अभिषेक हुन जादै थिए ।
मैले उसलाई अगाडि देखिरहेको थिए । प्रभुका अभिशिक्त जनहरुको हात मेरो टाउकोमा थिए । मेरो शिर मेरो प्रभुमा सबैले मेरो निम्ती प्रर्थना गर्दै थिए ।
कार्यक्रम सकियो । बधाई दिने हातहरु र बधाई दिने लाइनहरु धेरै लामो थियो । मेरो केही ध्यानहरु गीता तिर थिए । बधाई दिनेहरुको लाइनमा नै उ पनि आइ र मलाई बधाई भन्दै साझ ५ बजे एउटा क्याफेमा कफी खाने कुरा गरेर उ बिदा भई ।
म पाष्टर अभिषेक भएको दिन, केटी भेट्न जानु कति सही वा गलत हो मैले छुट्यौनै सकिन । तर मैले केही कुरा त गर्नै पर्छ आखिर उहीसंग विवाह गर्न जादै छु ।
म झम्सिखेलको एउटा क्याफेमा उसले भनेको समयमा पुगे । कफी अडर गरे संगै उसले मलाई फेरि मिठो मुस्कानका साथ बधाई दिई । उसले आज पनि पहेलो कुर्था लगाएर आइरहेकी थिई । उसलाई पहेलो कुर्थामा एकदम राम्रो देख्छ । केही दिनमा नै हाम्रो इंगेजमेन्ट हुँदै छ उसलाई चिन्न र बुझ्न धेरै बाँकी छ । त्यै पनि मनमा उ नै उ छ, थाहा छैन किन हो । मैले मौनतालाई चिरेर उसलाई सोधे, “तिमीलाई पहेलो कुर्थामा राम्रो देख्छ भनेर अरुले भनेको छ कि छैन ?”
उसले हाँस्दै, कसैले पनि भनेको छैन, किन र ?
मैले उसलाई उसको आँखामा हेर्दै भने, “तिमीलाई पहेलो कुर्थामा एकदम राम्रो देख्छ ।” उसले आफ्नो शिर झुकाइ र केही बोलिन ।
उसले यो मौनतालाई चिर्दै धन्यवाद भनि र संगै “तपाइलाई पनि निलो सर्ट राम्रो देख्छ ।”
म पनि चुपचाप भए । मैले आज सम्म कसैको पनि प्रत्यक्ष तारिफ गरेको थिएन । खै किन किन मलाई राम्रो देख्छौ भनेर भन्न मन लाग्यो र भनिदिए । त्यस पछाडि हामी दुबै जना मौन भयौ । यो मौनतामा मेरो मनले बिनय गरिरहेको थियो, “केही प्रश्न गरन मलाई, केही कुरा भनन मलाई, म भन्न चाहन्छु तिमीले चाहेको कुरा अनि सुन्न चाहन्छु मैले चाहेको कुरा, केही प्रश्न गरन मलाई, केही आफ्नो भन न मलाई !”
हामी एक अर्कामा त्यस्तो गहकिलो र ब्यक्तिगत कुरा केही गर्न सकेनौ । मैले पहिलो पटक कुनै केटीसंग कफी पिउदै थिए । हामीले कफी सिध्यायौ र तार्किन कुरा केही पनि नगरी बिदाइको हात हल्लाउदै आफ्नो घर लागेउ ।
घरमा इंगेजमेन्टको तैयारी हुँदै थियो । उसको निम्ती सपिंङका कुराहरु, सबै, सबै, !
शरीरमा गएर टुङिन्छ तर आत्मिक प्रेम अनन्तको हुन्छ ।” मैले उसको शरीरसंग प्रेम गरे वा आत्मा देखी प्रेम गरे कोही कसैले परिभाषित गरोस ।
म आज एउटा बरिष्ट पाष्टरको उपमा लिएर हिडिरहेको छु । तर मेरो जीवनमा एक दिन यस्तो समय पनि थियो । उ एउटा असल ख्रीष्टियन थिई तर उसको गलत निर्णयले उसले आफ्नो आत्मालाई अनन्तको मृत्युमा पारी ।
कहिले काही उसको अनुहार झली झली याद आउछ । उ संग बिताएका समयहरु, उ संग बिताएका पलहरु, उसंगका कुराहरु कहिलेकाही मनष्पटल धक्का दिन आइपुग्छन । कहिलेकाही झसंग हुन्छु, आँफैसंग झस्किन्छु र एकै छिनमा आफुलाई सम्हाल्छु र आँफैलाई भन्ने गर्छु, “मरेका आत्माहरुको सम्झना किन घरि घरि आइरहन्छन ?”
मैले इंगेजमेन्टको अघिल्लो दिन फोन गर्दै उसलाई सोधे, “तिमी खुशी छौ ?”
उसको उत्तरले म झन खुशी भए, उसले भनी, “तपाइ जस्तो श्रीमान पाउदै छु, संसारको सबै भन्दा बढी खुशी छु । “
उसको यो भनाइले म रातभर निदाउन सकिन । साचै, पुरा रात अनिधोमा बित्यो । भोली पल्ट हाम्रो इंगेजमेन्ट भयो । हामी सबै खुशी थियौ, उसंग मैले धेरै फोटोहरु खिचाए । पहिलो चोटि कसैलाई आफ्नो मानेर फोटो खिच्दै थिए । आँफैमा गद गदिदै थिए । हाम्रो बिहे यही महिनाको २३ गते हुने भयो । यानिकी अबको २० दिनमा ।
इंङेजमेन्ट पछाडि उसको र मेरो दिन दिनै फोनमा कुरा हुन थाल्यो । हामी धेरै कुराकानीहरु गर्थेउ । बालापनको, स्कुलको, कलेजको, चर्चको, सेवकायीको, संगतीको, बाइबलको, प्रार्थनाको ।
उसको र मेरो बिच यस्तै यस्तै आत्मिक कुराहरु मात्र हुन्थे । म कहिले काही उसको शारिरिक सुन्दरताको कुरा पनि गर्थे तर मलाई डर लाग्थ्यो । म उसंग शारिरीक भन्दा पनि आत्मिक प्रेम गर्न चाहन्थे ।
हाम्रो विवाहको केही दिन मात्र बाँकी थियो । मैले उसंग धेरै सपनाहरु देखिरहेको थिए । यतिकैमा हाम्रो कुराकानीहरु अलि पातलिदै गयो । हुन पनि हामी दुवै विवाहको तैयारीमा ब्यस्त थियौ ।
म आफु पनि विवाहको तैयारीमा अति ब्यस्त थिए । शायद दाजु भाई भईदिएको धेरै सजिलो पर्थ्यो तर एक्लो छोरो परे ! चर्चका भाईहरुले मेरो निम्ती धेरै गर्दै हुनुहुन्थ्यो । क्वायर झुण्डले एक हप्ता अगाडि देखी गीतहरु अभ्यास गर्दै थिए । विवाहको अघिलो दिन, दिनभर चर्चमा चर्च सिंघार्न देखी लिएर अरु सबै तैयारीहरु गर्नमा बित्यो । धेरै जसो केटीको चर्चमा विवाह हुन्छ । तर म एउटा पाष्टर भएको र मेरो आफ्ना आदर्णीय ब्यक्तित्वहरुको संख्या धेरै हुने भएकोले विवाह मेरै चर्चमा हुँदै थियो । त्यसैले मेरा क्वायर भाई बहिनीहरुले हाम्रो निम्ती भनेर बिहान देखी भोक भोकै भए पनि धेरै कामहरु गरिरखेका थिए । सजावटको कामहरु, तैयारीका कामहरु, पकाउने र किलमेल र पाहुनाहरु सबै सबै ।
सबै तैयारी सकेर म घरमा पुगे । धेरै थाकेको थिए । पाष्टर बुवाले कल गर्नु भयो र तैयारीको बारेमा सोध्नु भयो । मैले सबै कुरा ठीक भएको र भोली बिहानै ८ बजे भेट्ने निधो गरेर फोन राखे । धेरै जना पाहुनाहरु आउनु भएको थियो । यता उता सवै कोठाहरु पाहुनाहरुले भरिएको थियो । साझको समयमा बच्चाको हल्ला देखी लिएर पाहुनाहरुको खल्यांङमल्यांङ ! कता कता रमाइलो लागिरहेको थियो ।
लामो सास फेर्दै ओछ्यानमा पल्टिए । फोन हेरे । गीताको मिसकल थियो । मैले उसलाई फोन लगाए । अन्यायसी उसको फोन अफ रहेछ ।
साझको ७ बजेको थियो । उसले मलाई कल गरेको रहेछ तर उसको फोन नलागेकोले कता कता नरमाइलो लाग्यो । उसलाई फेरि फोन हाने, अफ थियो । ८ बज्यो, ९ बज्यो अझै उसको फोन अफ नै थियो । अरु बेला हामी ८ बजे कुरा गर्थेउ । आज हाम्रो कुरा पनि भएन । खासमा ३-४ दिन भईसकेको थियो हाम्रो कुरा नभएको । मैले उसको बुवालाई फोन लगाए । फोन रिशिभ भएन । उहाहरु पनि विवाहको तैयारी मै हुनुहुन्छ होला ।
मैले आफ्नो विवाहको नयाँ कोट हातमा लिए । कोट हेर्दै मन मनै सोचे, “हेर्दा हेर्दै बिहेको कोट लगाउने दिन पनि आएछ ।” मैले कोटलगाएर ट्राइ गरे, सर्ट लगाए, टाइ लगाए । आमालाई बोलाँउदै भने, आमा हेर्नुस त कस्तो देखिएको छ ?
आमाको अन्यायसी आँखाबाट आसु खसे, खुशीको आसु थियो त्यो मैले त्यही अड्कल गरे । मेरो फोनमा एउटा म्यासेज आयो । गीताको । म्यासेज खोले । केही लेखिएको थिएन । मात्र Sorry लेखिएको थियो । के कारणले सरी लेखेको मलाई थाहा भएन
म अन्यौलमा परे ।
यता आमा आसु खसाल्ने उता गीताको सरी भनेर म्यासेज आउने । मैले गीतालाई फोन लगाए । उसको फोन अझै अफ थियो । शायद उसले म्यासेज गर्नलाई मात्र अन गरेकी रैछ । मैले उसको बाबालाई फोन लगाए, २ चोटिको पालोमा उहाले फोन उठाउनु भयो रुदै भन्नु भयो, “माफ गर्नुस बाबु । छोरीले बुध्दी बिगारी । “
मेरी गीता जसलाई मैले साचै आत्मा देखि प्रेम गरे जो संग म अनतन्तको बन्धनमा बाधिन जादै थिए । जो संग मैले अनन्तको प्रित लगाएको थिए । जो संग मैले अनन्त अनन्त सम्म संगै जिउने सपनाहरु बुनेको थिए । उसको आफ्नै बोइ फ्रेण्डसंग उ भागी रे ! मैले थाहा पाए उसको आफ्नै अख्रिष्टिय केटा रहेछ । अझै सुने उसको पेटमा ३ महिनाको बच्चा हुर्दकै थियो रे । उसले मेरो सपनाको घर कुल्चिएर गई ।
म टुक्रिए, आमाको अनुहारमा हेरे ! आमा मलाई हेरेर डाँको छाडेर रुदै हुनुहुन्थ्यो । मेरो कोठा घुमिरहेको थियो । मेरो छतले मलाई थिचिरहेको रहेको थियो । म स्तब्द भए । सपना जस्तै लाग्यो । म थुचुक्क बसे । आँखाबाट आसु आयो ।
म रितिए ।
आज ४ बर्ष भएछ । म उसको र मेरो इंगेजमेन्टको फोटो हेर्दै थिए । उसले मलाई विवाहको अघिल्लो दिन छोडेर गई । शायद उसका पनि केही वाध्यत्मक परिस्थिती थिए होलान तर उसले मलाई किन भनिन ? म यही सोचिरहन्छु । फेसबुकका दुई तीन वटा स्ट्याटसले सबै ब्यक्तित्व खुल्ने रहेनछ । उसको फेसबुक स्ट्याटस अझै सम्झन्छु, “शारिरिक अभिलाषाले भरिएको प्रेम























