रवि लामिछाने र रमेश खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा छलफल

नवलपुर टुडे
२०७९ असार १० | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर अगाडि बढ्ने विषयमा उनीहरूबीच आज छलफल भएको हो ।
दुबै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रोतले जनाएको छ । ‘राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,’ स्रोतले भन्यो ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन् । यता लामिछानले पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए ।






















