Opens in a new tab

प्रबास

६५ करोड रुपैयाँको घोटाला प्रकरण: बलिउड अभिनेता डिनो मोरिया मुम्बई प्रहरीसमक्ष उपस्थित

एजेन्सी
२०८३ अशोज १६ | मध्यान्ह ०६:०६ बजे

मुम्बई । ६५ करोड भारतीय रुपैयाँको मिठी नदी सफाइ घोटाला प्रकरणमा बलिउड अभिनेता डिनो मोरिया शुक्रबार मुम्बई प्रहरीसमक्ष उपस्थित भएका छन्।

मिठी नदी सफाइ तथा गाड पन्छाउन बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले ठेक्का दिने क्रममा भएको भनिएको आर्थिक अनियमितताको विषयमा अनुसन्धान गर्न प्रहरीले मोरियालाई सोधपुछका लागि बोलाएको हो।

बीएमसीले कोच्चीस्थित फर्म म्याटप्रोप टेक्निकल सर्भिसेज प्राइभेट लिमिटेडबाट ‘स्लज प्रेसर’ र ‘ड्रेजिङ मेसिन’ जस्ता विशेष उपकरणहरू खरिद गरी नदीको हिलो सफा गर्ने ठुलो आयोजना सुरु गरेको थियो।

अनुसन्धानका क्रममा प्रकरणका मुख्य अभियुक्त केतन कदम र जय जोशीले म्याटप्रोप कम्पनी तथा बीएमसीको आँधीबेहरी जल निकास विभागका अधिकारीहरूसँग मिलेमत्तो गरी नक्कली बिल र बढाएर पेस गरिएको खर्चमार्फत ६५ करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ।

मुख्य अभियुक्त केतन कदमको कल डिटेल रेकर्ड (सीडीआर) छानबिन गर्दा कदम, अभिनेता मोरिया र उनका भाइका बिच पटक-पटक फोन सम्पर्क भएको पाइएपछि डिनो मोरियाको नाम यस प्रकरणमा जोडिन पुगेको हो। अनुसन्धान अधिकारीहरूले व्यक्तिगत चिनजानबाहेक मोरिया र कदमबिच वित्तीय कारोबार समेत भएको आशङ्का गर्दै केसमा अभिनेताको सम्भावित संलग्नावारे सुक्ष्म अध्ययन गरिरहेका छन्।

मुम्बई प्रहरीका अलावा सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए) अन्तर्गत राजस्व अनुसन्धान निकाय (इडी) ले पनि यस प्रकरणमा वित्तीय हिनामिनाको पाटोबाट छुट्टै अनुसन्धान चलाइरहेको छ। मुख्य अभियुक्तसँग मोरियाको कस्तो सम्बन्ध र कारोबार थियो भन्ने स्पष्ट पार्न सोधपुछ जारी रहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

कमेन्टहरु