Opens in a new tab

देश

भूमिहीनलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न गृहमन्त्री खाँणको निर्देशन

नवलपुर टुडे
२०७९ असार ४ | मध्यान्ह ०५:०३ बजे

बुटवल, असार ४ । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीन सुकुमबासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका छन् ।मन्त्री खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

शनिबार बुटवल राष्ट्रिय भूमि आयोगले आयोजना गरेको जिल्ला समितिका पदाधिकारीहरुका लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जति सक्दो चाँडो भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन उनले आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगका कामकारबाहीमा सहयोग गर्न आग्रह गरे ।

‘सरकारले के गर्नुपर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो कि, सबै काम गर्न सरकार तयार छ’, उनले भने, ‘भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ठूलो सहयोग चाहिन्छ । स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहन्छु पूर्ण सहयोग गर्नुहोला ।’

उनले भूमिहीनसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको र अन्त्य हुनेमा विश्वास पनि व्यक्त गरे ।

कमेन्टहरु